अस्तित्व, ब्रह्माण्ड, जीवन र मानवीय परिवेशका गहन चिन्तन तथा दर्शनमा आधारित कविता लेख्दै आएका कवि आर.बी. निश्चलको सातौँ काव्यकृति ब्रह्माण्डको अन्त्य बजारमा आएको छ।
तीन खण्डमा विभाजित यस कवितासङ्ग्रहको प्रत्येक खण्डमा २४ वटाका दरले कुल ७२ वटा कविताहरू समेटिएका छन्। कृतिको पहिलो खण्डमा अस्तित्व/ब्रह्माण्ड/स्वदेश,, दोस्रो खण्डमा जीवन/ प्रेम र तेस्रो खण्डमा आफ्नै परिवेश शीर्षक दिइएको छ । विषयवस्तुका आधारमा वर्गीकरण गरिएका खण्डहरूमा सोहीअनुसारका कविताहरू समाविष्ट छन् ।
अस्तित्व के हो र के अस्तित्व र ब्रह्माण्ड एकै हुन् ? ब्रह्माण्ड कस्तो छ र यसको अन्त्य कसरी हुन सक्छ ? वा अन्त्य हुँदा के-के हुन सक्छ ? जीवन के हो र परम चैतन्य के हो ? जस्ता प्रश्नहरूको काल्पनिक उत्तर तथा अनुभूतिहरू यस कृतिमा समेटिएका छन्। यसअघि कविका मौन हिमाल', सपनाफूल आँसु खस्दै गर्छ', पैताला पुकार, किस्ताकिस्तामा जिन्दगी' र उल्टो धार जस्ता ६ वटा काव्यकृति प्रकाशित भइसकेका छन्।इम्प्रिन्ट पब्लिसर्सले प्रकाशन गरेको यस पुस्तकको मूल्य रु ५३९ कायम गरिएको छ।