७, श्रावण २०७५
नेप्लिज डायस्पोरा
सियाटल (अमेरिका), साउन ७
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुदीपराज पन्त सर्बसम्मत निर्वाचित भएका छन्।
अमेरिकाको पश्चिमी राज्य वासिङ्टनको सियाटलमा आइतबार सम्पन्न नेजाको छैठौं अधिवेशनले पन्तलाई आगामी दुई वर्षका लागि निर्विरोध अध्यक्ष चयन गरेको हो।
निर्विरोध चयन भएका पदाधिकारीमा विकासराज न्यौपाने, किरण मरहट्ठा, सुरज भण्डारी र मच्छेदेवी गुरूङ क्रमशः उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा छन्।
त्यस्तै क्षेत्रीय संयोजकमा पूर्वक्षेत्रबाट कल्पना घिमिरे, डिसी भर्जिनिया मेट्रोक्षेत्रबाट लीलादेवी ओझा, मध्यक्षेत्रबाट रामचन्द्र भट्ट र पश्चिमी क्षेत्रबाट गोकुलप्रसाद ढकाल छन्।
त्यस्तै सदस्यहरुमा निदेश अधिकारी, शेरबहादुर केसी र बाबुराम खरेल छन्।
कार्य समितिको पहिलो बैठकले रिक्त एक सदस्य पदमा नेजाका पूर्व सचिव अग्नीप्रसाद चौलागाईलाई मनोनयन गर्ने निर्णय गरेको छ।
सोही बैठकले नेजाको पूर्व कार्यसमिति, निर्वाचन आयोग, नेपाल पत्रकार महासंघ र अधिवेशन आयोजक समितिलाई धन्यवाद प्रस्ताव समेत पारित गरेको छ ।
नेजा अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था हो ।
साधारणसभाको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शनिबार गरेका थिए। उद्घाटन कार्यक्रममा आचार्यले नेजानै अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था रहेकोले नेपाल पत्रकार महासंघसँग आवद्धता रहेको उल्लेख गरे।
आचार्यले आगामी दिनमा पत्रकार महासंघको साधारणसभामा नेजालाई प्रतिनिधिको हैसियतमा सहभागी हुन समेत आव्हान गरे।
नेजा र महासंघबीच सन् २०१३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सो पत्र अनुसार नेजा र महासंघबीच समन्वयमा बिभिन्न कार्यक्रमहरु हुँदै आएका छन् ।
सोही समझदारीपत्र अनुसार नेजाले स्थापना गरेको दुई लाख २२ हजार २ सय २२ रुपैयाँ राशीको ग्रामीण पत्रकारिता पुरस्कार यस वर्ष ओखलढुंगास्थित कान्तिपुर संवाददाता कुम्भराज राईलाई प्रदान गर्ने निर्णय भएको छ ।
त्यसैगरी पूर्व चयन भएको निर्वाचन समितिका संयोजक तारा बरालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
हिजो अमेरिकाको सियाटलमा शुरु भएको उद्घाटनमा आज नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिएको हो। अधिवेशनको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गरेका थिए।
प्रकाशित मिति :श्रावण ७, २०७५ सोमवार -
१६:५१:१५ बजे