Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

युएईमा मानव तस्करीविरुद्ध अभियान चलाउन गरिएको कार्यक्रममा पीडितले नै प्रवेश पाएनन्

युएईमा मानव तस्करीविरुद्ध अभियान चलाउन गरिएको कार्यक्रममा पीडितले नै प्रवेश पाएनन्

सतीश चापागाईं

१०, पौष २०७५
images
युएई – युएईमा हुने मानव तस्करी रोक्न सरोकारवाला संघ संस्थाले सामूहिक अभियान गर्ने प्रतिबद्धता जनाइएको कार्यक्रममा पीडितलाई भने छिर्नै नदिई फर्काइएको छ । भिजिट भिसामार्फत नेपालीहरुलाई युएई ल्याउने र अलपत्र पार्ने गिरोह पछिल्लो समय सक्रय भएको भन्दै तस्करी बिरुद्ध सामुहिक अभियान सुरु गर्ने छलफलका लागि कार्यक्रम हुने जानकारी सन्जालबाट थाहा पाएपछि कार्यक्रमस्थलमा पुगेका पीडितले हलमा छिर्न पाएनन् । साढे दुई महिना पहिले भिजिट भिसामा युएई ल्याएर अलपत्र पारिएका दुई जना पीडित कार्यक्रममा आफ्नो दुखेसो सुनाउन दूतावासमै गरिएको कार्यक्रममा पुगेका थिए । ३९ किलोमिटर टाढा मुसाफाको मजदूर क्याम्पबाट आएका तनहुँ दमौलीका होमबहादुर नेपाली र रोल्पाका दिलबहादुर मगर दूतावासमा पुग्नुभएको थियो । तर उहाँहरु कार्यक्रम हल भित्र भने प्रवेश पाउनुभएन । प्रवासी मञ्चका अध्यक्ष श्याम कँडेलले कार्यक्रममा पीडितलाई ल्याउनु आवश्यक नरहेको बताएपछि उहाँहरु दुई घण्टा कार्यक्रम स्थल बाहिरै बस्नुभयो । कार्यक्रमको बीचमा दूतावासका श्रम सहचारी मोतिराम भुसालले पीडितलाई उजुरी लेख्न लगाउनुभयो । पीडितले दिएको उजुरीलाई थप अध्ययन गरेर आवश्यक कारबाही अगाडि बढाउने कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलको प्रतिबद्धतापछि दुवै जना पीडित क्याम्पमा फर्किएका छन् । उनीहरुलाई नेपालबाट २ लाख ४५ हजार रुपैयाँ लिएर सेटिङमा सुवास कार्कीले युएई पठाएको र दुवईमा सरिता महत भन्ने एजेन्टले आफूहरुलाई विमानस्थलमै आएर एक हजार डलर लिएको निवेदनमा उल्लेख छ । नेपालीहरु वैदेशिक रोजगारीका लागि पुग्ने देशहरुमध्ये मलेसियापछि युएईमा सबैभन्दा धेरै नेपाली बेचबिखनमा पर्ने गरेको मानव बेचविखनविरुद्ध काम गर्दै आएको संस्था एटबिनको अध्ययन प्रतिवेदनमा उल्लेख छ । पीडितलाई प्रवेश नदिइएको कार्यक्रममा यहाँ सकृय नेपाली राजनीतिक दल, सामाजिक संघसंस्था तथा पत्रकार महासंघले सामूहिक अभियानका लागि सबै संघसंस्थालाई कार्यगत एकता गर्न अनुरोध समेत गरेका छन् । कार्यक्रममा सात बुँदे प्रतिबद्दता पत्रमा हस्ताक्षर समेत गरिएको छ । आफ्ना संस्थामा रहेका कोही व्यक्तिलाई तस्करीमा संलग्न हुन नदिने र भएको पाइए कारबाही गर्ने उनीहरुको प्रतिवद्धता छ । समस्यामा परेका महिलाहरुलाई दूतावासमा सेल्टरको व्यवस्था भए पनि पुरुषको हकमा नभएको भन्दै खान, बस्न र कानुनी पहलका लागि संघसंथाहरुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन । छलफलमा सहभागी वक्ताले पीडामा परेकाहरुलाई यहाँका संघसंस्थाले आर्थिक तथा सामाजिक सहयोग गर्दै आएको र त्यस किसिमको सहयोगले तस्करीमा संलग्नहरुलाई नै पृष्ठपोषण गरेको ठहर गर्दै तस्करी र दलाली गर्नेहरुबाटै पीडितलाई न्याय दिलाई पीडकलाई कानुनी दायरामा ल्याउन पहल गर्नुपर्ने बताएका थिए । संस्थाका प्रतिनिधिहरुको सहभागितामा मानव तस्करी न्यूनिकरणका लागि ५ सदस्यीय समिति समेत गठन भएको छ । समितिमा राजनीतिक दलका तर्फबाट प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम कँडेल, जनसम्पर्क समितिका चित्र केसी, जनप्रगतिशिल मञ्चका अध्यक्ष बाबुराम विश्वकर्मा, एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठ र पत्रकार महासंघ शाखा युएई अध्यक्ष भुपराज बस्याल हुनुहुन्छ । युएईमा रहेका अन्य संस्थासँग समेत समन्वय गर्ने र पदाधिकारी थप्ने गरी हाललाई समितिमा अध्यक्षको नेतृत्व श्याम कँडेलले गर्नुभएको छ । गठित समितिले समस्या निराकरण गर्ने उपाय सहितका विषयमा सरकारलाई सुझाव दिन आफूहरुनै नेपाल जाने जनाएको छ । कार्यवहाक राजदुत सागरप्रसाद फुयाँलको प्रमुख आतिथ्यतामा भएको छलफलमा श्रम काउन्सीलर भेषबहादुर कार्की र श्रमसहचारी मोतीराम भुसालको पनि उपस्थिती थियो । पहिलो कार्यक्रम नै विवादमा मानव तस्करी जस्तो सार्वजनिक सरोकारको बिषयमा खुला बहस गरेर सामूहिक अभियान गर्नुपर्नेमा दुई वटा राजनीतिक दलका प्रतिनिधि, एनआरएन र पत्रकार महासंघ मात्रैले गुपचुपमा रुपमा कार्यक्रम गरेको भन्दै युएईमा रहेका अन्य संघसस्थाले बिरोध जनाएका छन् । स्थानीय प्रशासन तथा कुट्नीतिक प्रयासबाट गरिनुपर्ने काममा दूतावासलाई अनावश्यक विवादमा ल्याउन कार्यक्रम गरिएको उनीहरुको भनाई छ । युएईमा रहेका चार वटा संस्था बाहेक अरु संघसंस्थाले विरोध गरेका छन् ।

images
प्रकाशित मिति :पौष १०, २०७५ मंगलवार - १६:५२:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend