२७, श्रावण २०७५
लोकेन्द्र प्रसाई
साउन २३, २०७५
केही दिनअघि प्रहरीले भारतबाट उद्धार गरेर ल्याएका महिलाहरु। तस्बिर: बर्षा शाह
काठमाडौं- खाडीलगायत विभिन्न देशमा बेच्न लैजान लागेको अवस्थामा भारतीय महिला आयोगको पहलमा केही साताअघि भारतको नयाँ दिल्लीबाट १६ नेपाली महिलाको ‘उद्धार’ भयो।
त्यसपछि लगातार केही दिन नयाँ दिल्लीका विभिन्न स्थानमा छापा मारियो र ६० भन्दा बढी नेपाली महिलाको उद्धार गरियो। तर ती सबै नेपाली महिला आफूलाई विदेश जानबाट रोकिएको भन्दै उद्धारकर्ताप्रति निकै आक्रोशित थिए। उनीहरुले आफू आफ्नै खुसीले जान लागेको बताएपनि उद्धारकर्ताले नियन्त्रणमा लिएर नेपाली दुतावासलाई बुझाई दिए र पछि नेपाल फर्काईए।
भारतभर यो समाचार निकै चर्चामा रह्यो। यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले नेपाल फर्किएका १६ नेपाली महिलासँग बयान लिएर ‘तस्कर’ पत्ता लगाउने प्रयास गर्यो।
पानीपोखरीस्थित सीआईबी कार्यालयमा दुई दिनसम्म उनीहरुलाई काउन्सेलिङ गरेर तस्कर पत्ता लगाउने प्रयास गरेपनि सफल हुन सकेन। उल्टै प्रहरीलाई उनीहरुले खाउँलाझैँ गरे।
‘म आफैँ पनि काउन्सिलिङमा थिएँ। उनीहरु निकै आक्रोशित थिए। कसैले पनि उनीहरुलाई भारतसम्म कसले पुर्यायो भन्नेबारे भन्न तयार भएनन्। बरु आफूहरुलाई समातेर भविष्य बिगारिदिएको आरोप लगाए’,सीआईबी प्रमुख डीआईजी नारायणसिंह खड्का भन्छन्।
मानव बेचबिखन तथा ओसारप्रसार मुद्धामा पीडितले जाहेरी दिएपछि अदालतमा समक्ष बयान प्रमाणित गर्नुपर्छ अनिमात्र मुद्धा दर्ता हुन्छ। त्यसैले पीडित तयार नभएसम्म यस मुद्धामा प्रकृया अगाडि बढाउन गाह्रो हुन्छ। सीआईबीले १६ जना नेपाली महिलाबाट सहयोग पाउनुको सट्टा ‘दुख दिएको’ आरोप खेप्यो।
स्रोतका अनुसार फर्काइएका यी महिलामध्ये नौ जना यसअघि नै विदेश पुगेर आइसकेका थिए। उनीहरु ओमन, कुवेत, यूएई, इराक लगायत देश जाने तरखरमा थिए। ‘पैसा पनि तिर्न नपर्ने हुँदा नेपाली महिला सजिलै लोभिएको देखिन्छ। नेपाली तस्करले गन्तब्यसम्म पुर्याएपछि एक जनाबापत डेढ लाख रुपैयाँसम्म पाउने गरेको बुझिएको छ।
यसरी गएका नेपाली महिलालाई विदेशमा घरेलु कामदारका लागि खरिद गरिन्छ। उनिहरुलाई साहुले थोरबहुत तलब पनि दिन्छन्। कस्तो ब्यवहार गर्छन् भन्ने चाहिँ साहुमै भरपर्छ। तर यसरी अबैध तरिकाले गएकालाई घरेलु कामदार राखेबापत उनीहरुलाई कसैले प्रश्न नै गर्दैनन्। त्यहाँको कानुन नै त्यस्तै छ’, मानव बेचबिखन तथा ओसार प्रसार अपराधमा केही समय काम गरेका एक पूर्व डीएसपी भन्छन्।
नेपालमा अहिले श्रम स्विकृति भएका जोर्डनबाहेकका देशमा घरेलु कामदारका रुपमा जान नेपाली महिलालाई प्रतिबन्ध छ। खाडी लगायत देशमा भिजिट भिसामा जान समेत कडाइ गरिने गरेको छ। उद्धार गरिएका महिलाले तस्करको नाम नखुलाउँदा तथा जाहेरी नदिँदा नेपालबाट महिलाको तस्करी रोक्न गाह्रो भएको प्रहरी बताउँछन्। उद्धार गरिए पनि ती महिला केही महिनामै फेरि त्यसरी नै विदेश पुग्ने देखिएको छ।
केही महिनाअघि भारत जाँदै गरेको अवस्थामा उद्धार गरिएका ७ महिलामध्ये धेरै जना अहिले नेपालमा नरहेको प्रहरी बताउँछन्।
तस्करले स्थलमार्ग हुँदै भारतबाट नेपाली महिलालाई विभिन्न देशमा घरेलु कामदारका रुपमा पुर्याउने गरेका छन्। ‘तस्करले पुर्याउने हुँदा विदेशमा दुख पाउँदा उद्धार गर्न गाह्रो हुन्छ’, महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकृत भन्छन्।
गत आर्थिक वर्षमा सीआईबीले मात्र मानव बेचबिखन तथा ओसारप्रसारमा ३८ मुद्धा दर्ता गर्यो। तीमध्ये ओमान, दुबई, कुवेत, केन्यामा पुर्याएर दुख पाएका महिलाको संख्या ६ थियो। डरका कारण धेरै पीडित सम्पर्कमै नआउने प्रहरीको अनुमान छ।
मानव बेचबिखन तथा ओसार प्रसार ब्युरो एक सातामै
नेपाल प्रहरीले नयाँ गठन हुन लागेकाे मानव बेचबिखन तथा ओसार पसार ब्युरो एक साताभित्रै सन्चालनमा ल्याउने तयारी गरेको छ।
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध जटिल बन्दै गएपछि सरकारले गत नीति तथा कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार ब्युरो ल्याइने घोषणा गरेको थियो। ब्युरो सन्चालन सम्बन्धी कार्यबिधि बनाउन गठित सुझाव समितिले प्रतिवेदन समेत बुझाइसकेको छ।
समितिले ब्युरोको प्रस्तावित नियमावली समेत बुझाएको छ। प्रतिवेदनमा ब्युरो एक सय ७१ दरबन्दी क्षमताको हुने र केन्द्रमा बाहेक हरेक प्रदेशमा प्रहरी निरिक्षकको कमान्डमा समन्वय युनिट रहने सुझाव दिइएको छ। यस ब्युरोले विशिष्टकृतरुपमा मानव बेचबिखन तथा ओसारप्रसार सम्बन्धी अपराध हेर्ने छ।
देशसंचार डटकमबाट
प्रकाशित मिति :श्रावण २७, २०७५ आइतवार -
१०:२२:३४ बजे