Logo

बुधवार, श्रावण २७ गते २०८३   |   2026 August 12

images

images

अमेरिकामा आईआरएस र युएससीआईएसका नाममा नक्कली फोनको जगजगी

अमेरिकामा आईआरएस र युएससीआईएसका नाममा नक्कली फोनको जगजगी

सतीश चापागाईं

२७, श्रावण २०७५
images
तस्बिर: खसोखासबाट अमेरिकामा अहिले आईआरएस र युएससीआईएसबाट फोन गरेको भन्दै ठगहरुले सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने क्रम जारी नै छ । आफू आईआरएसबाट बोलेको भन्दै ठगहरुले सर्वसाधारणहरुसँग रकम माग्ने गरेका छन् । उनीहरुले फोन गरेर ट्याक्स राम्रोसँग फाइल नगरेको वा अरु विभिन्न कारण देखाउदै तत्काल रकम नतिरे पक्राउ गर्ने वा डिपोर्टेशन गर्नेसम्मका धम्की दिने गरेका छन् । त्यस्तै आफू युएससीआईएसबाट बोलेको भन्दै उनीहरुले अध्यागमन सम्बन्धि सुचना नसच्याएको वा अरु विभिन्न कारण देखाउँदै रकम नतिरे पक्राउ गर्ने वा डिपोर्टेशन गर्ने धम्की दिने गरेका छन् । ठगहरुबाट आएका यस्ता फोनबाट पीडित नेपालीहरुको संख्या समेत निकै ठूलो रहेको छ ।   न्युयोर्कमा कानुन व्यवसाय संचालन गरिरहनुभएका बरिष्ठ कानुन व्यवसायी खगेन्द्र क्षेत्रीले खसोखाससँग कुरा गर्दै भन्नुभयो –“केही समयको अन्तरालमा दर्जनौं नेपालीहरुले आफू यस्ता फोनकलबाट पीडित भएको जानकारी हामीलाई गराएका छन् । उनीहरुमध्ये केही ठगिन समेत पुगेका छन् । ” ठगहरुले फोन गर्नासाथ केही नेपालीले कानुन व्यवसायीहरुसँग सम्पर्क गरेर यसबारे सोधपुछ गरेका भएपनि कैयन नेपालीहरु भने हतासमा ठगिन पुगेका छन् । दर्जन नेपालीले आफू ठगहरुका फोनकलबाट पीडित रहेको क्षेत्री ल फर्ममा जानकारी गराएका हुन् । त्यो बाहेक ठगीका फोनकलबाट पीडित नेपालीहरुको संख्या अमेरिकामा निकै ठूलो रहेको छ ।   केही पहिले आईआरएसबाट फोन गरेको भन्दै रकम माग्ने ठगलाई बोष्टनका एकजना नेपालीले १० हजार अमेरिकी डलर बुझाएका थिए । ठगले उनलाई तुरुन्तै फामेर्सीमा गएर भौचरमार्फत रकम नतिरे पक्राउ गर्ने र डिपोर्टेशन गर्ने धम्की दिएपछि ति नेपालीले हतासिएर ठगलाई रकम बुझाएका छन् । रकम बुझाइसकेपछि मात्र उनले आफू ठगिएको पत्तो पाए । कानुन व्यवसायी क्षेत्री भन्नुहुन्छ –“यसरी ठगिने नेपालीहरु अरु धेरैजना रहेको जानकारीमा आएको छ । त्यसैले आईआरएस, युएससीआईएस वा अन्य निकायबाट फोन गरेर धम्की दिने र रकम माग्नेहरुबाट सावधान रहनुहुन सबैलाई अनुरोध गर्छु । ”     यस्ता ठगहरुले प्राय घरको नम्बरमा फोन गरेर ट्याक्स फाइल नगरेकाले जरिवाना तिर्न धम्क्याउने गरेका छन् । उनीहरुले प्राय फार्मेसीहरुमा गएर ग्रिन डट मनी भौचरबाट रकम तिर्ने उपाय सुझाउने गरेका छन् । तुरुन्तै कसरी रकम तिर्ने भन्ने तरिका पनि उनीहरुले नै सिकाउने गरेका छन् । फोन गर्नेहरु भारतीय लवजमा बोल्ने गर्छन् । कानुन व्यवसायी क्षेत्री भन्नुहुन्छ –“उनीहरुले आईआरएसको भन्दै फोन नम्बर पनि दिने गरेका छन् । कलब्याक गर्दा सुरुमै आईआरएस अफिस भन्दै फोन उठाउँछन् । राम्रोसँग अंग्रेजी बोल्न पनि सक्दैनन् उनीहरु । अमेरिकाको आईआरएस हो कि भारतको भनेर सोध्ने हो भने हिन्दीमा समेत कुरा गर्छन् । ”   अहिलेम्मका घटना हेर्दा यस्तो ठगीमा गिरोह नै सकृय रहेको आशंका गरिएको छ । प्राय भारतीय लवजमा व्यक्ति बोल्ने भएकाले र अमेरिकाले यस्तो गिरोहको पहिचान गर्न वा पक्राउ गर्न नसकेकाले इन्टरनेटको माध्यमबाट यो गिरोह भारतबाटै सकृय रहेको अनुमान पहिलेदेखि नै गरिदै आएको थियो । यस्ता ठगहरुबाट ठगिनेहरु नेपाली, भारतीय र भर्खर अमेरिकामा आएका अन्य देशका नयाँ आप्रवासीहरु समेत रहेका छन् । त्यसैले यस्ता फोनकलहरु आएमा कुरा नगर्न र आधिकारिक सरकारी निकायहरुमा खबर गर्न आईआरएस र युएससीआईएसले अनुरोध गरेको छ । (यो सामग्री खसोखास डटकमबाट साभार गरिएको हो । -सम्पादक )

images
प्रकाशित मिति :श्रावण २७, २०७५ आइतवार - ११:४४:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend