२७, श्रावण २०७५
यो अनुभव लेखिरहदा मैले नेपाल छाडेको अनि जापानलाई कर्मथलो बनाएको चार वर्ष पुगेको छ । तर मलाई यी चार बर्ष चार महिना मात्र भए जस्तो लाग्छ, सायद जापान बसाई सहज भएर होला । सुरुवाती दिनहरु मलाई पनि गाह्रो भयो ।जसरी हामी नेपालमा नै पनि कसैको घरमा पाहुना भएर जादा त्यो घरमा घुलमेल हुन केही समय लाग्छ र असहज हुन्छ । त्यस्तै भयो मलाई यहाँ । अरुको देश, अरुको भाषामा त्यसो हुनु स्वाभाविक पनि हो ।
म एक साधारण गरिब किसानकी छोरीले विश्वको शक्तिशाली देश जापानको सपना देख्नु नै ठुलो कुरा हो । मेरा भगवान जस्ता बुबा आमाको साथ र आफन्तहरुको धेरै सहयोगले जापान प्रवेश गरे । जिन्दगीको कहानी मेरो पनि नभएको होईन । ति कहानीलाई छिचोल्दै जापान त प्रवेश गरे तर धेरै गाह्रो भो । यहाँको नियम, कानुन, सस्कृति अनि प्रबिधिसंग अभ्यस्त हुन् । सिधा भनुँ भने म पुर्बी पाल्पा गेझाको छोरी नेपालको राजधानी काठमाडौँ पनि यहि जापान आउने समयमा मात्र पुगेकी थिएँ । काठमाडौँ नै पुरै नघुमी म जापान आएं । अहिले म विश्वको शक्तिशाली देश जापानमा छु र यो अनुभव लेखिरहेकी छु ।
सुरुवाती दिनहरुमा त लाग्थ्यो बेकारमा जापान आएँ अब जिन्दगी सकियो, धेरै ठुल्लो गल्ति गरे । जापान अनि जापानमा बिद्यार्थी जीवनमा धेरै कष्ट भोगे । म पनि निराशा पनको सिकार भए । यहाँ एक्लो भए जस्तो लाग्थ्यो । भाषा बुझ्दिन थिएँ । काम सामान्य भाषा जाने बराबरको प्याकेजिन, कटिंग यस्तै यस्तै मिल्थियो । धेरै गारो भयकोले जापान र जापानिज प्रति धेरै नकारात्मक सोच आउथियो । केही समय भनु या दुई बर्ष एक्लो संघर्षपछि मैले मेरो आफ्नो मान्छेसंगै भए जिन्दगी सहज होला । म नेपाल फर्कनुभन्दा यहि केहि गर्नु पर्छ भनेर दुइजना संगै संघर्ष गर्ने निर्णयले श्रीमान श्रीमती संगै भयौ ।
समयसंगै धेरै कुरा सहज लाग्न थाल्यो । जापानको बसाई धेरै खुशी लाग्छ । जापानलाई कर्म थलो बनाइराख्न पाउदा । यहाँको नियम कानुन राम्रो छ र कडा पनि । त्यसैले त बनेको होला विश्वको शक्तिशाली देश जापान ।
जापान आएर आधा दशक बिताउन लाग्दा हामी नेपालीको मानशपटलमा हुने कमाइ काठमाडौँमा घर, पोखरामा घडेरी, बुटवलमा बिजनेश जोड्न सकेकी त छैन तर जिन्दगिको सुनौला अनुभव र खुशी जोडेकी छु जस्तो लाग्छ । हिजो आज त म पनि भाषा जान्ने भएर होला काम पनि जापानको प्रसिद्ध रेस्टुरेन्ट NAKAU जुन २४ सै घण्टा चल्छ । नेपालीभन्दा जापानिज साथीहरु धेरै छन् । धेरै रमाइलो लाग्छ काममा पनि । काम भित्रको नियम धेरै कडा छ तर पनि सहज लग्छ । किनकी जापान नियमले चलेको छ भन्ने महिले बुझेकी छु ।
बिहान ९ बजेदेखि ११ बजे रातीसम्म कामको सिलसिलामा हरेक शहर शहर पुग्छु । त्यहाँ १०० यौ थरिका मानिस भेट्छु । सबै जापानको नियममा चल्छन । धन्य छ जापान ! हामी नेपाली घरमा बुबाले गरायको नियममा छोराछोरी, बुहारी बस्दैनन तर कस्तो देश हो १०० औ देश भन्दा बढी देशका मानिसले मान्दछन यहाँको नियमलाई । समय समयमा ससाना घटना त भईरहेको हुन्छ ।काममा जाने आउने क्रममा सानातिना दुर्घटना देख्छु तर कोही जापानिज यो दुर्घटनामा परेको मान्छेहरुको फोटो सेल्फी खिच्ने अनि त्यो ब्यक्तिलाई उठाउने गर्दैनन् । त्यो देख्दा त लाग्छ कति स्वार्थी हो यहाँ को मानिस ! तर कुरा अर्कै रहेछ, त्यो दुर्घटना भएको केहि मिनेट मै पुलिस अनि यो दुर्घटनाको सम्बन्धित ब्यक्ति आउछ, अरुले बेकारमा किन समय बर्बाद गर्नु भन्ने रहेछ । अनि मैले पनि बुझ्न थाले यो नै सहि हो । जापानभरि यहि नियम छ ।
जहाँ जे दुर्घटना भएपनि देख्नेले केहि गर्दैनन् । जापानमा मैले बुझे र पढे अनुसार विश्वको शक्तिशाली र आफ्नो नियममा अडिग राष्ट्र हो । र, मैले देखेर बुझेको अनुसार यही नै हो जस्तो लाग्छ । यहाँ प्रतीघण्टा ६ सय १० किलोमिटर चल्ने रेल छन् र विश्वको ठुलो ट्रेन स्टेशन यहि छ । जापानमा कामको लगभग ८० प्रतिशत काम त मेशिनले नै गर्दछ । ओहो !विकास ओहो ! यहाँको सिष्टम भन्ने लाग्छ । हाम्रो प्यारो देश नेपाल पनि यस्तै भैदेओस भन्ने लाग्छ ।
जापान देश नेताहरुले चलाएको देश होइन यो त केवल नियमले चलेको छ । हाम्रो देश नेपाल नियमले होइन नेताले चलेको छ जस्तो लाग्छ मेरो बुझाईमा । जापानबाट मैले यो छोटो अवधिमा जीवनमा धेरै ज्ञान हासिल गरे जस्तो लाग्छ । समयसंग हिड्न सिकायो, कामलाई सम्मान गर्न सिकायो, सानादेखि ठुलासम्म सम्मान गर्न सिकायो । नियम अनि नियमानुसार बस्न सिकायो । यहाँ बस्ने, खाने, घुम्ने र काम गर्ने सबैको आफ्नो नियम छन् र पालनमा गर्नै पर्छ । यहाँ पनि नकारात्मक कुरा नभएका होइनन । यो नकारात्मक मलाई लाग्छ हामी अभ्यस्त हुन् नसकेर होला । मैले त धेरै चिज र ज्ञान पाएँ जापानबाट र आफ्नो कामप्रति पनि खुशी छु । खुशी यो कुरामा छु कि मेरो पसिनाको मूल्य एक पैसा पनि खेर गएजस्तो लाग्दैन । कामबाट आफु निस्कने समयभन्दा दुईचार मिनेट ढिला भएपनि त्यो तलबमा बढेर आउछ ।
कुक भिसामा आउनेलाई गाह्रो देखेकी छु यहाँ । त्यो पनि हाम्रै नेपाली दाजुभाईका कारणले हो । किनकि यहाँ ब्यबसाय चलाउनु भएका नेपाली दाजुभाईहरुले आफ्नै नेपाली दाजुभाईको पसिनाको मूल्य दिनु भएको छैन । कतिपय ठाउँमा शोषण भएको देखेकी छु । तेस्तै समस्यामा बिद्यार्थीहरु पनि भएको मेरो अनुभव छ ।
जापानिजहरुले बिदेशीहरु यहाँ आउनु भनेको केवल पढ्न र करियर बनाउनको लागि हो भनेर सोच्ने गर्दछन । यही सोचाईले होला यहाँको सरकारले यसरी आएका बिद्यार्थी उद्देश्य पुरा गर्नको लागी बस्न पुग्ने पैसा कमाउने मात्र समय अर्थात् हप्ताको २८ घण्टा काम गर्ने अनुमति दिन्छ । तर, हामी नेपालीको सपना पुरा हुदैन र बिद्यार्थीहरु पनि दुखि छन ।
यो चार बर्षको बसाईमा जापानिजले हामीप्रति कुनै नकारात्मक सोच र दुर्ब्यबहार गरेको पाएकी छैन । म आफै कामबाट कोठामा फर्कदा रातको ११ बजेको हुन्छ र एक घण्टा रेलको यात्रा गर्नु पर्छ तर डरको कहिल्यै अनुभव भएन । त्यो रातीमा जापानिज दाजुभाइको बीचमा बसेर यात्रा गर्दा पनि असहज हुदैन । यती ढुक्क हुन्छ की आफ्नै परिवारका सदस्यसंग यात्रा गरिरहेकी छु जस्तो लाग्छ । यहाँको नियमले महिलाहरुलाई सम्मान र प्राथमिकतामा राखेको छ । यहाँ जहाँ जेमा हेर्छु ठुलो पदमा महिला नै भएको पाउछु । महिला पनि कति निडर र लगनशील ! बुलेट ट्रेनदेखि हरेक सवारी साधनका चालक महिला नै छन् । यहाँका महिलाहरुलाई कसैको चियो चर्चो गर्ने फुर्सद हुदैन । आफ्नै रफ्तारमा कुदिरहेको छ जापान र पछि पछि कछुवाको गतिमा हिडिरहेका छौं, हामी नेपाली ।
रामपुर पाल्पा
हाल: साईतामा-सोका
जापान
प्रकाशित मिति :श्रावण २७, २०७५ आइतवार -
१८:३७:५६ बजे