Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

चीनका राष्ट्रपति सी आज नेपाल आउने, काठमाडौंमा चिनियाँ सुरक्षाकर्मी

चीनका राष्ट्रपति सी आज नेपाल आउने, काठमाडौंमा चिनियाँ सुरक्षाकर्मी

सतीश चापागाईं

२४, आश्विन २०७६
images
काठमाडौं । नेपाल सरकारले चीनका राष्ट्रपति सी चिनफिङको लागि काठमाडौंको सोल्टी होटेल पूरै बुक गरेको जानकारी आएको छ। एक रात बास बस्ने र काठमाडौंमा सीले सबै भेटवार्ता गर्ने तय भएको सोल्टी होटल चिनियाँ पक्षले पूरै रिजर्भ गरेको हो । सोल्टीको व्यवस्थापन स्रोतले जनाएअनुसार होटलका सात वटा स्वीट रुम, २ सय ८२ वटा अन्य रुम र क्यासिनो समेत बुक गरिएको छ । नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा राष्ट्रपति सीले अधिकांश समय यही होटलमा बिताउनेछन् । सीको पहिलो नेपाल भ्रमणमा आउने चिनियाँ प्रतिनिधिमण्डल ९० सदस्यीय हुने बताइएको छ । शुक्रबारदेखि नै बन्द गरिएको क्यासिनो सी आउने दिन शनिबार र आइतबार पनि बन्द रहनेछ । होटलभित्र रहेका सबै पसलहरू तीन दिन बन्द रहनेछन् । सोल्टी होटलमा करीब एक महिनादेखि चिनियाँ सुरक्षाकर्मी र अन्य सरकारी अधिकारी रहँदै आएका छन् । चिनियाँ राष्ट्रपति सीको सुरक्षाका कारण होटल लगभग सिल गरिएको छ । चिनियाँ र नेपाली सरकारी अधिकारी बाहेक अन्यलाई सामान्यतः प्रवेश नै छैन । सोल्टीको रिगल स्वीट ग्रुपमा सात वटा रुम छन् । फेवा, रारा, गोसाइकुण्ड, रुपा, बेगनास, फोक्सुण्डो र तिलिचो छ । जसमा राष्ट्रपति सी सहित चिनियाँ प्रतिनिधिमण्डलका उच्च नेता र मन्त्रीहरू बस्नेछन् । स्वीट रुममा किचेन, सुरक्षागार्ड, बैठक र मास्टर बेडरुम रहेका छन् । एउटा स्वीटको एक रातको मूल्य १८ सय अमेरिकी डलरसम्म रहेको छ । १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट थपिन्छ । सोल्टी मात्रै होइन, काठमाडौंका मुख्य पाँच तारे होटल अहिले चिनियाँले भरिएका छन् । अन्नपूर्ण, याक एण्ड यति, मेरियट, सांग्रिला, हायातका अधिकांश रुम चिनियाँले भरिएका छन् । राष्ट्रपति सी भ्रमणको सुरक्षाका लागि करीब पाँच सय चिनियाँ सुरक्षाकर्मी र गुप्तचर काठमाडौंमा परिचालन भएका छन् । सय बढी चिनियाँ सञ्चारकर्मी काठमाडौं आएका छन् ।

images
प्रकाशित मिति :आश्विन २४, २०७६ शुक्रवार - १८:३९:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend