Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँमा, आज दुई देशबीच महत्वपूर्ण सम्झौता हुने जानकारी

चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँमा, आज दुई देशबीच महत्वपूर्ण सम्झौता हुने जानकारी

सतीश चापागाईं

२५, आश्विन २०७६
images
काठमाडौँ – दुई दिने राजकीय भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँ आइपुग्नुभएको छ । आज अपरान्ह त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट अधिकारीहरुले सीलाई भव्य स्वागत गरेका छन् । सी को दुई दिने नपाल भ्रमणका क्रममा दुई पक्षीय हितका महत्वपूर्ण विषयमा सम्झौता हुने सरकारी अधिकारीहरुले बताएका छन् । विषेश गरी चीनसँगका विभिन्न नाका खोल्ने र रेलमार्ग विस्तारका सम्बन्धमा महत्वपूर्ण सम्झौता हुने बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपतिको यो भ्रमण का क्रममा कनेक्टीभिटिलाई जोड दिएर विभिन्न सम्झौता भइरहेको बताउनुभयो । त्यसमध्ये चीन जोड्ने रेलमार्ग निमार्णको विषय महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि कनेक्टीभिटिलाई नै बढी महत्व दिएर सरकार अघि बढ्ने बताउनुभयो । उहाँले प्राथमिकताहरु धेरै भए पनि पहिलो प्राथमिकता सडक सञ्जाल बिस्तारको नै रहनुपर्ने बताउनुभयो । उहाँले चीन जोड्ने नाकाहरु खोल्न सके नेपालको भविष्य उज्जवल रहेको बताउनुभयो । पूर्वमन्त्री रोमी गौचनले पनि सडक सञ्जाल नै विकासको मार्ग भएको बताउँदै नाकाहरु खोल्ने कामलाई पहिलो प्राथमिकता दिइनुपर्ने बताउनुभयो । उहाँले सरकारले चाहेमा नाका खोल्ने काम केही वर्षभित्रै सम्पन्न हुने दाबी गर्नुभयो । यता चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा रेलमार्ग निमार्ण गर्नेसहित विभिन्न नाका खोल्ने कुरामा सम्झौताको चर्चा भइरहँदा सुदुरुपश्चिमलाई फेरि पनि प्राथमिकतामा नपारेको भन्दै त्यहाँका बासिन्दा निराश भएका छन् । चीनसँग जोड्ने सुदुर तथा मध्यपश्चिमको सबै भन्दा छोटो ताक्लाकोट नाकालाई प्राथमिकतामा नपारिनु मुलुककै लागि दुःखद पक्ष भएको सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले बताउनुभयो । उहाँले भारतको राजधानी दिल्लीसँग सबैभन्दा नजिकको दूरीमा रहेको ताक्लाकोटा नाकालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गर्नुभयो । २३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको समृद्धिको यात्रामा नयाँ आयाम थप्ने सरकारको दाबी छ । विज्ञान प्रविधि तथा आर्थिक उन्नतिमा विश्वको शक्ति राष्ट्रका रुपमा उदय भइसकेको चीनका राष्ट्रपतिको नेपाल भ्रमण आफैमा पनि ठूलो उपलब्धी हो । यो भ्रमणबाट अनावश्यक ऋण थुपारिने योजनाहरुमा सम्झौता हुनुभन्दा सरकारी अधिकारीहरुले समेत भन्दै आएको र मुलुकको आवश्यकता समेत भइसकेको सडक सञ्जाल विस्तार र व्यापार घाटा कम गर्ने विषयमा परिणाममुखी र लाभदायी सम्झौता होस् भन्ने चाहना नागरिकहरुले लिएका छन् ।

images
प्रकाशित मिति :आश्विन २५, २०७६ शनिवार - २०:५१:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend