बुधबार, ०४ मङि्सर २०७६
Wed, 2019-11-20
Open Nav

एनआरएनएमा फैलिएको राजनैतिक रोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२६ आश्विन २०७६, आईतवार एनआरएनएमा फैलिएको राजनैतिक रोग
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल सरकार र सम्बन्धित अन्य निकायहरुसँग विश्वसनीय आँकडा नभएको परिप्रेक्षमा हामीले हाम्रो तथाकथित छाता संगठन गैरआवासीय नेपाली संघलाई सर्वाधिक ठूलो संगठन भन्दै र मान्दै आएका छौँ । गाउँको सामान्तीले आफ्नो आँखाले देख्ने जति जग्गा चोरी औंला देखाउँदै ‘उ त्यो सप्पै मेरो जग्गा हो’ भनेझैं अहिले हामीलाई पनि सत्तरी हजार प्रवासी नेपालीहरुको प्रतिनिधिमुलक छाता संगठन भन्दै आफ्नो अनुकुलको कर्म र कर्तुतहरु गर्ने सुबिधा पनि मिलेको छ । तर आफूलाई छाता संगठनको स्वघोषणा गर्ने सिमित धनीहरुले स्थापनाकालदेखि नै मनोमानी गरेको यो ‘एलिट क्लब’ गरिखाने कामदार श्रमजीवी वर्गका लागि छाता त के सामान्य पानी छिट्याउँदा ओत दिने घुमसम्म पनि बन्न सकेको छैन ।

उनीहरुलाई अर्काे लाभ पनि प्राप्त भएको छ, भनिएको आम सत्तरी लाख मध्ये मुस्किलले दुई–तीन प्रतिशतले मात्र सदस्यता लिएको यो संगठनमा त्यहि सानो प्रतिशतले चुनेका प्रतिनिधिहरुले आम आधिकारिता हाँसिल गर्दै नेपाल सरकार र अन्य नियोगहरुसँग सम्बन्धन कायम गर्ने अनुपम अवसर पनि पाएको छ । त्यहाँ सामेल नभएको ठूलो प्रतिशतले त्यो मेरो संगठन होइन म त्यसको सदस्यता छैन भन्दा पनि गैरआवासीय नेपाली संघको आधिकारिकता र बैधानिकतामा कुनै न्यायिक संकट आउँदैन त्यसअर्थमा मैले सन् २०१४ देखि एकजना संचारकर्मीको हैसियतमा जोडिएको दिनदेखि निरन्तर भन्ने र लेख्ने गरेको छु हामीले हो भने पनि होइन भने पनि अनि मन परेपनि या नपरे पनि सदस्यता लिए पनि नलिए पनि यो हाम्रो संगठन हो अनि परिभाषाले हाम्रो भनेको आफ्नै संगठनको स्वामित्व चाँही हामीले किन नलिने ?

कैयन मेरा शुभचिन्तक साथीहरुलाई लागेको छ मैले यो संगठनका बारेमा सम्प्रेषण कार्यक्रममा सामुदायिक अन्तरक्रियात्मक बहस संचालन गरेर अनि निरन्तर खबरदारी लेखेर मैले मेरो समय र उजौ खेर फालेको छु तर त्यो तर्कसँग म शालीनतापूर्वक प्रमाणिक किसिमले नै बिमति राख्दछु । मलाई त यस्तो पनि लाग्दछ त्यहाँ निरन्तर भएको खुलेआम दलगत राजनैतिक गुण्डागर्दी, वित्तीय अराजकता, अपारदर्शिता र दण्डहिनता जस्ता कानुनको नजरमा दण्डित हुने दुस्कर्महरुका बारेमा मौनता साँधेर हामीले आफ्नो संचार या नागरिक जिम्मेदारी पुरा गरेका छैनौं । म एनआरएनए र एनआरएनए अमेरिकाको बारेमा साह्रै धेरै लेख्छु त्यसको अर्थ हो म त्यहाँ हुने गरेको र भइरहेको बदमासीहरुका बारेमा यथेष्ट जानकार छु र मलाई लाग्छ त्यसको प्रमाणिक फेहरिस्त आम पाठक दर्शकलाई पस्कनु मेरो संचार दायित्व पनि हो ।

यो पनि पढ्नुहोस :   महासचिवको रुपमा मेरो कार्यकाल संस्थागत बिकासको कोशेढुंगा -बिआर लामा

गैरआवासीय नेपाली अभियान ‘सिन्डीकेशन’ र ‘दलगत राजनीति’ जस्ता दुई वटा डरलाग्दा रोगहरुबाट आक्रान्त छन् भने ति अभिष्ट अनि चरित्रलाई द्रब्यले निर्देशित मात्र होइन नियन्त्रित समेत गर्ने गरेको छ । लामोकाल ‘सिन्डीकेशन’ को एकछत्र राज चलेको संगठनमा शेष घलेको दोश्रो कार्यकालबाट भात्री संगठनमार्का दलगत राजनीतिले खुलेआम आमन्त्रण पायो । ‘अल्छि तिघ्रो स्वादे जिब्रो’ को हैसियतमा प्रवासमा बेरोजगार रहेका भात्री संगठनका सामान्य कार्यकर्ता समेतले युरोप, अस्ट्रेलिया हुँदै काठमाडौँ विश्व सम्मेलनसम्म जाने अवसर पाए ।

माओबादी जनयुद्धका कारण बिस्थापित राजनैतिक शक्ति र व्यक्तिहरु यही मियो समाएर राजनैतिक अभिष्टका साथ बहुरिने दुस्वप्नका साथ पार्टीको खुलेआम ब्याकअप सहित चुनावी मैदानमा देखा परे । त्यस्तो दुरुह दृश्यहरु काठमाडौँमा विश्व सम्मेलन भैरहँदा सभा भवन वरिपरी सल्बलाउने नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली मंचका कार्यकर्ताहरुको चहलपहल र बैठकहरुले यत्रतत्र देखिने गर्दछन् । भातृ संगठनका कार्यकर्तामार्फत पार्टीको ह्वीप जारी हुन थाल्यो र त्यस्ता आशिर्वाद थाप्न प्रवास स्थित भातृ संगठनका राजनैतिक बिचौलियाहरु मार्फत उम्मेदवारहरु नेताको ढोका चहारेको सर्मनाक दृश्यले हामी लज्जित भयौं तर जसरी हुन्छ जित्ने दम्भ बोकेकाहरुलाई अलिकति पनि सरम भएन । त्यसका नयाँ संस्करण र नियमित आकस्मिकताहरुमा कुनै कमी आएको छैन ।

दुई जिब्रे अभियन्ताहरुकै कारण हाम्रो गैरराजनैतिक चरित्रको संगठनमा दलगत मात्र होइन गुटगत फुटपरस्तबादी नेपाली राजनीति छिर्याे । चलाख र बचाल अभियन्ताहरु निरन्तर दोहोरो मापदण्डमा रमाई रहे ‘माछो आए दुलो भित्र हात, सर्प आए दुलो बाहिर हात’ को रणनीतिमा उनीहरु उदात्त रमाए । पैसा भएका तर बुद्धि र रणनैतिक कौशल नभएका तथाकथित अभियन्ताहरु तिनै दुई कौडीका कार्यकर्ताहरुको पाउ पर्ने गरेको दुरुह दृश्य र घटनासँग अब हामी कोही पनि अनबिज्ञ छैनौँ ।

सन् २०१४ को नौ माहिने आवधिक कार्यकालदेखि आजको दिनसम्म एनआरएनए अमेरिकामा खुल्लमखुल्ला नेपाली कांग्रेस समर्थकहरुले गैर कानुनी बाटो र शैलीबाट शक्ति हत्याएका छन भने भाइ कांग्रेस प्रवासी नेपाली मंचका कार्यकर्ताहरु झर्ला र खाउँला अथवा उब्रिएको दाइले अलिकता देला कि भनेर ढुकेर बसिरहे । उनीहरुले पनि कहिल्यै यो संगठनमा दलगत राजनीति गर्नु हुँदैन भन्ने आँट कुनै दिन गरेनन् । त्यसको प्रमाण खोज्न अब हामीले टेनेसीको कोर्ट या तात्कालिक तर अहिले बिघटन गरिएको न्यायिक समितिको ढड्डा पल्टाउनै पर्दैन त्यस्ता प्रमाणिक फेहरिस्त र सफेद बदमासीहरुका बारेमा आम प्रवासीहरु जानकार छन् । राजनैतिक अभिष्ट र नियत उस्तै भएपनि त्यो ग्राण्ड डिजाईन गर्ने राजनैतिक जत्थाले पछिल्ला बर्षहरुमा आफ्नो रणनीतिमा केही परिमार्जन भने गरेका छन् ।

यो पनि पढ्नुहोस :   हामी नेता खोज्दैछौं, कोही हुनुहुन्छ? -शैलेश श्रेष्ठ

सन् २०१७–१९ मा हजारौं नक्कली मतहरु ‘हार्ड ड्राईभ’ मा सञ्चिति गरेर आफ्ना पक्षकालाई चाहे जति यान्त्रिक मत घोप्ट्याएर कब्जा गरेका थिए भने यसपाली चाँही दुनियाको आँखा छल्न अनेकौं समितिहरु बनाएको नाटक गर्दै अन्तमा पुनः २०९३ जगेडा नक्कली मत मतदाता नामावलीमा थपेर अन्ततः ‘सुनीलको हात जगन्नाथ’ गरि छाडे । म आफै पनि सुपरिवेक्षण समितिको जिम्मेवार सदस्य भएको नाताले त्यस्ता बदमासीहरुलाई नजिकबाट हेर्ने र जान्ने मौका पाएँ । हामीले प्रमाणीकरण नगरी चोर बाटोबाट निर्वाचन आयोगलाई नामावली पठाएर अन्ततः संस्थापनले धाँधली गरिछाडे ।

मैले बारम्बार भन्ने अनि लेख्ने गरेको छु यी सम्पूर्ण कुकर्म र अपराध स्तरको गैर कानुनी कर्तुतहरु गरे बापत ढिलो चाँडो उनीहरु अमेरिकी मौजुदा कानुनको अधिनमा आउन बाध्य हुनेछन् । पद, शक्ति र रवाफको मातमा गैर कानुनी कामहरु गरेबापत अमेरिकी झ्यालखानाको चिसोमा पश्चातापको जीवन बिताई रहेका कैयन अमेरिकी राजनीतिज्ञहरुको हालत अनि हविगत मैले नजिकबाट देखेको छु । त्यस्ता अपराध र गैरकानुनी काम गर्नेहरुले कुनै पनि बहाना र चाहनामा उन्मुक्ति पाउँदैनन् ।

मैले एनआरएनएका संस्थापक, संरक्षक, अभियन्ता र वर्तमान संस्थापनलाई बारम्बार यो राजनैतिक महामारीका बारेमा सतर्क अनि सचेत गराएको छु तर ‘हरेक मानिसको कुनै न कुनै राजनैतिक विचार त भइहाल्छ नि शैलेशजी !’ भनेर यो गम्भीर बिषयलाई बहुत सजिलो गरि लिइएको छ तर म फेरी पनि भन्छु यो राजनैतिक महामारीको निदान तपाईहरुले सोंचे जस्तो सजिलो छैन । जब एनआरएनए अमेरिकामा संसारकै सबभन्दा ठूलो एनसीसी भएको हेजेमोनिक दम्भ पस्यो त्यहाँबाटै यो दम्भयुक्त राजनैतिक महामारीले पनि प्रवेश पायो अहिले हेर्दैछु यो महामारी अष्ट्रेलिया, पोर्चुगल हुँदै बेलायत तिर फैलँदो अनि बढ्दो छ । अब कुनै न कुनै रुपमा निर्वाचन हुन बाँकी अन्य राष्ट्रिय समन्वय परिषदहरुमा पनि यो महामारी सल्कनेछ । त्यसपछि त्यसको एकठ्ठा भीमकाय रुप काठमाडौँ बिश्व सम्मेलनको मंचमा प्रत्यक्षरुपमै देखा पर्ने छ । राजनीति, जात र धर्मको आधारमा उम्मेदवार हुन नपाईने अनि प्यानल निर्माण समेत गर्न नपाईने भनेर बिधान र निर्वाचन आचारसंहिताले ब्याख्या गरेपनि राजनैतिक शक्तिकेन्द्रको आशिर्वादले चुनाव जित्ने सपना बोकेका उम्मेदवारहरुको शरीरमा अहिले ‘कांग्रेस’ र ‘कम्युनिष्ट’ को शैतानी आत्माले प्रवेश पाईसकेको छ । अग्रजहरुले मेहेनत गरेर बनाएको त्यो बिधान र आचारसंहिताहरु राजनीतिबाजहरुको अगाडी निरिह ‘पेपर टाईगर’ मात्र भएको छ ।

यो पनि पढ्नुहोस :   नमुना नेपाल’को चन्दा कहाँ गयो धुर्मुसेजी ?

निःसन्देह हाम्रो निर्वाचन आचारसंहिता निक्कै बलियो अनि कडा छ । यो संगठनमा उम्मेदवार चाहनेहरुले यदि आफू अन्य कुनै राजनैतिक, जातीय या धार्मिक संघ(संगठनमा कार्यकारी हैसियत)मा बहाल रहेको भए उक्त पदबाट राजिनामा दिएको मात्र होइन राजिनामापत्र स्वीकृत भएको प्रमाणिक कागजात मनोनयनको बेला बुझाउनु पर्ने कडा नियम छ ।

तर अचम्म त्यसको कार्यान्वयनका लागि केन्द्रबाट अधिकार प्राप्त संयन्त्रको निर्माण त के कल्पनासम्म गरिएको छैन । उम्मेदवार या अझ निर्वाचन प्रमुख या आयोगका अन्य कुनै सदस्यहरुले पदीय दायित्व निर्वाह नगरेको भन्दै कोही कसैले उजुर गर्न चाहेमा त्यसको सुनुवाई हुने न्यायिक या सर्वशक्तिमान निकाय कुन हो ? नियमकानुन बनाउने मस्यौदाकारदेखि आईसीसीका कार्यकारीहरु यस बिषयमा निःशब्द मौन छन् ।

कुनै पनि उम्मेदवारले प्यानल खडा गरेर निर्वाचनमा जान नपाईने भनेर आचारसंहितामा स्पष्टताका साथ भनिएको छ तर अधिकांश एनसीसीको निर्वाचनहरु दुई घोषित प्यानल बिच प्रतिस्पर्धा भएका छन त्यसको प्रमाण उम्मेदवारहरुको फ्लायर र उनीहरुले सार्वजनिकरुपमा बोलेका विचार र मन्तव्यहरुबाट प्रष्ट अनि प्रमाणिकरुपमा सुन्न सकिन्छ । त्यो भन्दा अर्काे सबुत प्रमाण के हुन सक्छ आफैले बोकेका अनि बोलेका छन् ।

एनआरएनए कै बिटमा लेखेर अनि सम्प्रेषणमा सामुदायिक अन्तरक्रियात्मक बहसहरुको संचालन गरेर मैले एकजना शिकारु संचारकर्मीको परिचय बनाएको छु हरेक अग्रज परिकल्पनाकार, अभियन्ता र संस्थापनसँग सिधै सम्पर्क गर्ने सक्ने औकात बनाएको छु । अहिले क्रियाशील प्राय सबै एनसीसीहरुको गतिबिधि र बिकसित राजनैतिक चलखेलको सुक्ष्म निगरानी पनि गरिरहेको छु तर आजको दिनसम्म मैले त्यसरी बिधिबिधान र निर्वाचन आचारसंहिता मिच्ने माथि न्यायिक कारवाही भएको खबर समाचार सुन्ने र पढ्ने अहोभाग्य पाएको छैन । कार्यान्वयन बिनाको कठोर बिधि बिधान र आचरसंहिताहरुको निर्माण र परिकल्पना व्यवहारिकरुपमा सिर्फ यथास्थितिबाद र कर्मकाण्डहरु मात्र हुन । मैले बारम्बार लेख्ने गरेको छु डर ‘बुढी मरी भन्नेमा होइन कि काल पल्कियो’ भन्नेमा चाँही हो ।संसारन्युज डटकमबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य