चितवन । चितवनमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर कोभिड–१९ ल्याबमा गरिएको कोरोना परीक्षणमा सोमबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये चितवनका २०, नवलपुरका ५, धादिङ, सप्तरी, काठमाडौं, रुपन्देही र कपिलवस्तुका १–१ जना रहेका छन् ।
संक्रमित हुनेहरुमा धेरैजसो भरतपुर महानगरपालिकाका रहेका छन् । महानगरपालिकाको एकको क्वारेन्टाइनमा रहेका ४ जना, वडा नम्बर २८ का २ जना, वडा नम्बर २७ का २ जना, वडा नम्बर २०, वडा नम्बर १९, वडा नम्बर–११ र वडा नम्बर ४ का १–१ जना रहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. श्रीराम तिवारीले जानकारी दिनुभयो।
त्यस्तै पुरानो मेडिकल कलेजमा उपचाररत २ जना, नारायणी सामुदायिक अस्पतालमा उपचाररत १ जना बिरामी तथा नारायणी सामुदायिक अस्पतालका दुई जना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ। पुरानो मेडिकल कलेजमा उपचारत एक जना कपिलवस्तु र एक जना रुपन्देहीका हुन् ।
त्यस्तै संक्रमित एक जना चिकित्सक काठमाडौंका हुन् । सप्तरी घर भई भरतपुर क्यान्सर अस्पतालमा उपचाररत एक जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मुखको क्यान्सर रोग भएर भरतपुर क्यान्सर अस्पतालमा आएकी एक महिला घर फर्किसकेकी छिन् ।
उनको परिवारलाई खबर गरिएको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले बताउनुभयो। ती महिलाले अप्रेसन गर्ने समय लिएर घर गएको डा. गौतमले बताउनुभयो। उनको सम्पर्कमा आएका नर्स तथा चिकित्सकहरुको स्वाब संकलन गरिसकिएको डा. गौत्तमले बताउनुभयो।
यसैबीच, भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको अवस्था गम्भीर छ । भरतपुर–३ नारायणगढका ६८ बर्षका पुरुषलाई आईसीयूमा राखिएको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार मुटु रोग र निमोनिया छ ।