काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले पाल्पालाई बिच भलिबलको ‘हब’ बनाउन सकिने बताएका छन् ।
पाल्पाको रानीमहलमा चैतमा हुने राष्ट्रिय बिच भलिबल प्रतियोगिताको आयोजक कमिटिसँग छलफल गर्दै सचिव रेग्मीले पाल्पालाई बिच भलिबलको ‘हब’ बनाउन सकिने सम्भावना रहेको बताएका हुन् ।
सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा चैतको अन्तिम साता पाल्पाको तानसेनस्थित रानीमहल परिसरमा सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना हुदैछ । प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्ने सन्दर्भमा सचिव रेग्मीले आयोजक समितिसँग छलफल गरेका हुन् ।
‘बिच भलिबलको इतिहास लामो छ । यो नेपालको सम्भावना भएको खेल पनि हो ।’ रेग्मीले भने, ‘समुद्री तटको किनारामा रहेको बालुवामा खेल्ने खेल भएपनि प्राकृतिक रुपमा नेपालका धेरै जसो नदी नालाको किनारामा यसलाई खेल्न सकिन्छ । त्यसैले नेपालमा यस खेलको सम्भावना धेरै देख्छु ।’
उनले पाल्पाको रानीमहलमा हुने बिच भलिबल प्रतियोगिताले राष्ट्रिय खेल भलिवललाई थप लोकप्रिय बनाउने अभियानमा मद्वत गर्ने विश्वास व्यक्त गरे।
‘कालीगण्डकी करिडोर बिच भलिवल खेलको सम्भाव्य गन्तव्य हो । यसलाई निरन्तर रुपमा आयोजना गर्न सकियो भने बिच भलिबलको हब बन्ने सम्भावना देख्छु, त्यसका लागि आवश्यक पहल हुन आवश्यक छ । यसमा मेरो प्रयत्न रहनेछ ’ उनले भने ।
सो अवसरमा मन्त्रालयले समेत यसलाई गम्भिरतापूर्वक हेरेको उल्लेख गर्दै सचिव रेग्मीले प्रतियोगितालाई सफल बनाउन मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।
छलफलमा सहभागी पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराईले बिच र पानीमा खेलिने खेलको नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यसमा राज्यले ध्यान दिनुपर्ने बताए ।
पाल्पाली संगमका अध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका सदस्य पदम न्यौपानेले रानीमहलमा हुने बिच भलिबलको आयोजनाबाट त्यस क्षेत्रमा खेल पर्यटनले फड्को मार्ने विश्वास ब्यक्त गरेका थिए ।
प्रतियोगिताका सद्भावना दुत नायक धिरेन शाक्यले खेलकुदको माध्यमबाट दिने सन्देश प्रभावकारी रहने उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले पनि यसमा अग्रसरता लिनुपर्ने धारणा राखेका थिए ।
राखेप कार्यकारी सदस्य एकेन्द्र कुँवरले राष्ट्रिय बिच भलिबल प्रतियोगिताको आयोजनाबाट सिंगो भलिबल क्षेत्र उत्साहित रहेको उल्लेख गर्दै परिषद्को तर्फबाट सक्दो सहयोग रहने बताएका थिए ।
आयोजक संस्थाकी अध्यक्ष एवंम नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले छलफलको क्रममा प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै प्रतियोगिताको आयोजनाबाट खेलकुदमात्र नभएर त्यस क्षेत्रको पर्यटन प्रवर्दनमा सहयोगमा पुग्ने विश्वास व्यक्त गरिन् ।