गैर आवासीय नेपाली संघ अमेरीका, पश्चिम क्षेत्र र क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियाका विभिन्न संघ संस्थाहरुको सहकार्यमा अप्रिल ९, २०२२ का दिन सान् फ्रान्सिस्कोमा गरेको नेपाल डे परेड र नेपाल डे परेड - कल्चरल नाईटको आयोजकले आय व्यय विवरण सार्वजनिक गरेको छ।
२०२२ अप्रिल १९ तारीखका दिन आयोजित जुम कार्यक्रम मार्फत उक्त विवरण सार्वजनिक गरिएको हो। गैर आवासीय नेपाली संघ अमेरीका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एक देव शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गैर आवासिय नेपाली संघ अमेरीका पश्चिम क्षेत्रका क्षेत्रिय संयोजक श्रीराम थापा लगायत परेड मूल आयोजक समितिका विभिन्न पदाधिकारीहरु, पत्रकारहरु लगायत अन्य संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।
गैर आवासीय नेपाली संघ अमेरीका, क्यालिफोर्निया च्याप्टरका सचिव एवं परेड सचिवालयका संयोजक हरि ओझाले प्रस्तुत गर्नुभएको विवरण अनुसार कार्यक्रमका लागी विभिन्न चन्दा दाताहरुबाट प्राप्त रकम, कार्यक्रम प्रायोजकहरुबाट प्राप्त प्रायोजन र डोनेशन टिकेट बिक्रिबाट संकलित जम्मा आम्दानी ५३०६८.०१ डलर रहेको छ। कार्यक्रम मा विभिन्न शिर्षकहरुमा ४३३९८ डलर खर्च भएको छ भने ९६७०.१० डलर नाफा भएको छ।
कबोल गरिएको रकम मध्ये ६२६५ डलर कार्यक्रमको खातामा अझै प्राप्त हुन बांकी रहेको छ। गैर आवासीय नेपाली संघ अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एक देव शर्माका अनुसार नाफा भएको रकमलाई च्याप्टरले खडा गर्न लागेको आपतकालिन राहत कोषमा जम्मा गरिनेछ भने उक्त कोषलाई अन्य श्रोतहरुबाट समेत रकम जुटाई खर्चको नियामावली बनाएर आपतकालिन परिस्थितिमा आईपर्ने दैवी प्रकोप लगायतका कार्यमा खर्च गरिनेछ।
खर्चको विवरण सार्वजनिक गर्न आयोजित जुम कार्यक्रम मार्फत आयोजक संस्थाका तर्फबाट विभिन्न उप समितिका पदाधिकारीहरुले परेड र कल्चरल नाईटमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। उक्त जुम कार्यक्रम https://fb.watch/cw7sg2ZzuN/ मा हेर्न सक्नुहुनेछ। कार्यक्रममा प्रस्तुत विवरण https://docs.google.com/spreadsheets/d/15BpB-SrDugmcKHa6WS95_cmeh9sIyfKnZ56fwo1shf0/edit गुगल ड्राईभमा समेत राखिएको छ।
अझै कार्यक्रमका लागी चन्दा र कबोल रकम आउने क्रम जारी रहेकोले रकम केही मात्रामा तल माथी हुन सक्ने र अन्तिम विवरण पुन: अपडेट गरिने आयोजकले बताएको छ।