Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

हामीले भोट हाल्यौं -सतीश चापागाई

हामीले भोट हाल्यौं -सतीश चापागाई

सतीश चापागाईं

२०, बैशाख २०७९
images
हामीले भोट हाल्यौं -सतीश चापागाई

 

जहां पनि
जहिले पनि
जस्लाई पनि
हामीले भोट हाल्यौं

भोट गरेर हामीले
परिमाणमा प्रभाव पार्यौ
परिणाम फेर्न सकेनौ

भोट गरेर हामीले
भगवान फेर्न सक्यौं
भाग्य फेर्न सकेनौं

भोट गरेर हामीले
बाटो त छुट्टियौं
गन्तव्य पहिल्याउन सकेनौं

भोट गरेर हामीले
पात्र त फेर्न सक्यौं
प्रवृत्ति फेर्न सकेनौ

भोट गरेर हामीले
टावर त बनायौं
टोल बनाउन सकेनौं

भोट गरेर हामीले
सपना त देख्यौं
विपना भेट्न सकेनौं

भोट गरेर हामीले
व्यवस्था परिवर्तन गर्यौं
अवस्था फेर्न सकेनौं

हो ! भोट गरेर हामीले
पेट फेर्न सक्यौ
भोक फेर्न सकेनौ
डाक्टर फेर्न सक्यौ
रोग फेर्न सकेनौं
घाट फेर्न सक्यौं
शोक फेर्न सकेनौं

भाषा बदल्यौं
भेष बदल्यौं
तर देश बदल्न सकेनौं

हरेक पटक
हामीले भोट हाल्यौं
हालिरह्यौं

चोरलाई चौतारोमा राख्यौ
साधुलाई सुली चढायौ
हामीले भोट हाल्यौं

देउतालाई दानव बनायौं
दानवलाई देउता बनायौं
हामीले भोट हाल्यौं

गोबरलाई गणेश बनायौं
गणेशलाई गोबर बनायौ
हामीले भोट हाल्यौं

विवेकलाई सधै थाती राखेर
विचारलाई टाउको माथी राखेर
हामीले भोट गर्यौं

हामीले लहरलाई भोट गर्यौ
हामीले लहडलाई भोट गर्यौ
हामीले रहरलाई भोट गर्यौ

बदला लियौं, बदलिएनौं
मत दियौं, मन दिएनौ
बस् !
हामीले भोट हाल्यौं !
हामीले भोट हाल्यौं !

 

 

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - २०:३४:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend