बाल्टिमोरमा नेपाली चलचित्र 'लक्का जवान'को प्रदर्शनको मिति घोषणा भएको छ ।
यहि जुनको १९ तारिख आईतबारका दिन यहांको 'होराईजन सिनेमा' मा चलचित्र प्रदर्शन गर्ने मिति फिक्स गरिएको चलचित्रका निर्माता धुर्ब वन्तले नेप्लिज डायस्पोरालाई जानकारी दिनुभयो ।
यस चलचित्रमा बाल्टिमोरमा लामो समयदेखि व्यवसाय र सामाजिक काम गर्दै आएकी अनु वन्तले नायिकाको भूमीका निभाउनन भएको छ । वन्त बानाकी निबर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।
"म बाल्टिमोरका नेपाली दाजुभाई दिदीबहिनीसंग बसेर चलचित्र हेर्न चाहन्छु । सबैलाई निमन्त्रणा पनि गर्दछु ।" चलचित्रकी नायिका अनु वन्तले भन्नुभयो ।
नेपालका सबै चलचित्र हलहरुमा हाउस फुलका साथ प्रदर्शन भएको यो चलचित्र बाल्टिमोरका नेपालीहरुको लामो प्रतिक्षापछि आएकोमा धेरैले खुशी व्यक्त गरिरहेका छन ।
शिवहरी पौडेलको निर्देशनमा बनेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, दिलिप रायमाझी, प्रियंका कार्की, राता मकै लगायतका कलाकारले अभिनय गरेका छन ।
कोभिड महामारीभन्दा अगाडी नै बनेको लक्का जवानलाई नेपाली दर्शकहरुले झण्डै दुई बर्ष कुर्नु परेको छ ।
