गायक राजु लामाले जुलाई १ का दिन ब्यान्ड सहित सान् फ्रान्सिस्कोमा प्रस्तुती दिने भएका छन्। माना पाथी ईन्टरटेनमेन्टले आयोजना गर्न लागेको लाईभ कन्सर्टमा गायक लामाले प्रस्तुती दिने जानकारी आयोजकले जुन १२ का दिन एक प्रेस मिट गरेर दिएको छ।
आयोजक माना पाथी ईन्टरटेन्मेन्टका सागर पौडेलका अनुसार कार्यक्रममा गायक राजु लामा मात्रै आऊंदै छैनन्, उनको फुल ब्यान्डनै आएर लाईभ म्युजिकमा प्रस्तुती दिने छन्। सान् फ्रान्सिस्कोको रोकापुल्कोमा आयोजना हुन लागेको कन्सर्टको साधारण टिकेट दर ४५ डलर कायम गरिएको छ भने भि आई पी टिकेटको दर १५० डलर रहेको छ। “Save the Himalayas” नारा दिईएको कार्यक्रममा टिकट बिक्रिबाट भएको नाफाको दश प्रतिशत रकम हिमाल सरसफाईमा खर्च गरिने छ।
बे एरियामा प्राय कार्यक्रममा लफडा गर्दै हिंड्ने केही खराब आचरण भएका व्यक्तिहरुले उक्त कार्यक्रममा पनि त्यस्तो हर्कत गर्न सक्ने भएकोले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिईएको आयोजकले बताएको छ। “त्यस्ता व्यक्तिहरुले कुनै गलत काम गरेर कार्यक्रममा व्यवधान खडा गर्न खोजे हामीले उनिहरुलाई तुरुन्तै हलबाट निकाल्ने व्यवस्था मिलाएका छौं”, आयोजक मध्येका एक सागर पौडेलले बताए। उनले थपे “हलबाट निकाल्ने मात्रै नभएर आगामी कार्यक्रमहरुमा प्रवेश निसेध गर्नुका साथै नाम र फोटो सहित सामाजिक सन्जालमा समेत प्रकाशन गर्नेछौं।”

लाईभ ब्यान्ड सहितको प्रस्तुती रहने हुनाले कार्यक्रम अझै रमाईलो र सांगितिक हुने हुंदा राजु लामाको प्रस्तुती हेर्न नछुटाउनका लागी सम्पूर्ण बे एरिया निवासी नेपालीहरुलाई आयोजकले आग्रह गरेको छ।