तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्रि तथा खेलाडी राजु क्षेत्रीलाई बाल्टिमोर काउण्टिले सम्मान गरेको छ ।
काउण्टि एक्जुक्टिभ जोन ए. ओजेवस्की जुनियरद्वारा हस्ताक्षर गरिएको साईटेशनमा खेलको मार्फत समुदायलाई सहयोग पुर्याए वापत क्षेत्रीलाई सम्मान गरेको उल्लेख गरिएको छ ।
"बाल्टिमोरका नागरिकका तर्फबाट तपाईका आगामी दिनहरुमा निरन्तर प्रगतीको शुभकामना व्यक्त गर्दछौं ।" साईटेशनमा भनिएको छ ।
क्षेत्रीले नेपालको तर्फबाट तेक्वान्दो खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीताहरुमा प्रतिस्पर्धा गरिसक्नु भएको छ । उहां तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्रि समेत हुनुहुन्छ ।
उहांले चौथो कोरिया ओपन अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा गोल्ड मेडल जित्नु भएको थियो ।
क्षेत्री एनआरएनए साउथ कोरियाका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टर, साथी बाल्टिमोर र बाल्टिमोर एथ्लेटिक्स क्लबले आयोजना गरेको एक कार्यक्रमका क्रममा उक्त सम्मान गरिएको हो ।
एनआरएनए मेरिल्याण्ड च्याप्टरले गरेको सिफारिशका आधारमा काउण्टि एक्जुक्टिभको कार्यालयले यो सम्मान प्रदान गरेको हो । समाजमा उल्लेख्य योगदान गरेको भन्दै अन्य व्यक्ति र संस्थालाई पनि साईटेशन प्रदान गरिएको थियो ।
साथी बाल्टिमोरका संस्थापक रमेश भट्ट 'नेपाली छोरो', नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाई, साथी बाल्टिमोर, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, बाल्टिमोरको सामाजिक संस्था बानाका अध्यक्ष सुबोध विलास पन्त, बाल्टिमोर एथ्लेटिक्स क्लब र नेपाली अमेरिकन कन्भेन्सनका अध्यक्ष व्यास विसुलाई पनि यो सम्मान प्रदान गरिएको थियो ।