नेपालको बहुपति प्रथाका बारेमा नेपालका चर्चित पत्रकार गणेश पाण्डेको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) अमेरिकाको बाल्टिमोर र न्युयोर्कमा देखाइने भएको छ ।
अमेरिकाको एटलान्टामा आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवलमा यो बृत्तचित्रले उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको थियो ।
सोही कार्यक्रममा सहभागी हुन आएका निर्देशक पाण्डेसंगै बाल्टिमोर र न्यू योर्कमा यो बृत्तचित्र प्रदर्शन गर्न लागिएको हो ।
मेरिल्याण्डको बाल्टिमोरमा लमजुङ–अमेरिका सेवा समाजको आयोजना तथा बाना र एनआरएन बाल्टिमोरको सहयोगमा अगष्ट २१ तारिख आइतबार १ बजे बानाको हलमा प्रदर्शन हुनेछ ।
त्यस्तै न्यूयोर्कमा अगष्ट २४ तारिख बुधबार साँझ ७ बजे ठमेल एनवाइसीको आयोजनामा प्रदर्शन गर्ने कार्यक्रम छ ।
"वृत्तचित्र अति नै राम्रो बनेको चर्चा परिचर्चा छ । अमेरिका मै अवार्ड पनि जितेको छ । बाल्टिमोरमा सबैले हेरेर सहयोग गरौं ।"लमजुङ–अमेरिका सेवा समाजका निबर्तमान अध्यक्ष शशी थापाले नेप्लिज डायस्पोरासंग भन्नुभयो ।