एनआरएनए अमेरिकाको दोस्रो महिला सम्मेलन आज सिकागोमा हुदैछ ।
सम्मेलनमा महिलाले भोगेका दैनिक उल्झनहरुका बिषयमा छलफल हुनुका साथै महिला हक र अधिकारका बारेमा छलफल हुने बताईएको छ ।
एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सुवेदीले सम्मेलन सफल बनाउन सार्बजनिक आव्हान गर्नु भएको छ ।
अध्यक्ष सुवेदीद्वारा जारी आव्हान:
गैर आवासीय नेपाली सङ्घ अमेरिकाले दोस्रो महिला सम्मेलन गर्न गइरहेको यहाँहरुसवैलाई अवगत नै छ । भोलि अर्थात १७ सेक्टेम्वर शनिवार सिकागोमा हुन गइरहेको महिला सम्मेलनमा सबैलाई स्वागत छ । आपसमा भेटेर विचार मन्थन गर्दै कार्यक्रमलाई सफल बनाउन I विश्व खुला र समतामूलक समाजको बाटोमा हिँडेको छ। सबै जात-जाती, लिङ्ग, महिला पुरुष र समुदाय समान हुन भन्ने मान्यताहरु स्थापित भएका छन् । अव हामीले महिला हक हित र अधिकारका क्षेत्रमा भएका अध्ययन अनुसन्धान, अनुभव माथि छलफल ,विचार विमर्षबाट सही मार्ग तय गर्दै सफल कार्य योजना सहित अगाडि बढ्नु पर्दछ । त्यसैका लागि महिला भेला उपयुक्त थलो हो । महिला सम्मेलन सफलताका लागि सबै जुटौँ ।
धन्यवाद
बुद्धि सागर सुबेदी
अध्यक्ष, गैर आवासीय नेपाली सङ्घ अमेरिका
पत्रकार सरु शर्माका अनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको आयोजनामा राष्ट्रीय महिला सम्मेलन सफल बनाउन सिकागो, विस्कन्सिन, वहायो लगायतका राज्यमा रहेका स्थानिय संघ सस्थाले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएको एनआरएन एनसिसि अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्राईले जानकारी दिनु भयो । स्थानीय संघ संस्थाहरु संग आईतबार भएको छलफलमा आफ्नो भागमा परेको जिम्मेवारीलाई सहजताका साथ निभाउने र कार्यक्रम सफल पार्न कटिबद्द रहेको विभिन्न स्थानीय संघसस्थाका प्रतिनिधिले बताएका थिए । खाना,बस्न, सांस्कृतिक कार्यक्रम, साउन्ड सिस्टम,पाहुनाको स्वागत एवम कार्यक्रम तयारी लगायतका विभिन्न काममा स्थानिय संघ संस्थाको महत्वपूर्ण भुमिका हुनेछ।
कार्यक्रममा नेपालका साथै विभिन्न देशबाट महिला अभियन्ता, विज्ञ, गैर आवासीय नेपाली नेतृत्व तहका व्यक्तिहरु सम्मेलनमा सहभागि गराइ, महिलाका समस्यालाई केन्द्रिकृत गरेर अन्तर्राष्ट्रिय तहमा आवाज उठाउने, समाधानका लागि दबाब सिर्जना गर्ने, बिभिन्न तहमा महिला सहभागितालाई व्यापक बनाउने उद्देश्यका साथ एनआरनए अमेरिकाले सम्मेलन आयोजना गर्न लागेको एनआरएन एनसिसि युएसए का महिला उपाध्यक्ष दिक्क्षा बस्नेतले जानकारी दिनु भएको छ।
सम्मेलनमा महिला सशक्तीकरण, प्रवासमा नेपाली महिलाको अवस्था, एनआरएनए अभियानमा महिला, घरेलु हिंसार अध्यागमनको समस्या, एनआरएनए अभियानमा युवाको सहभागिता र अवस्था, एनआरएनएमा महिलाको सहभागिताको मुल्याँकन लगायतका विषयमा पनि चर्चा हुने बताईएको छ ।
यो सम्मेलनले केन्द्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा महिलाको भुमिका नेतृत्व तहमा हुने संभावनालाई उजागर गर्नुका साथै महिलाका समस्यालाई संस्थामार्फत केन्द्रिकृत गरेर अन्तर्राष्ट्रिय तहमा आवाज उठाउने, समाधानका लागि दबाब सिर्जना गर्न सम्मेलनको दस्तावेज सहयोगी बन्ने बताईएको छ।
एनआरएनए अमेरिकाको यो महिला सम्मेलनले महिलाको समस्या र समाधानलाई प्राथमिकिकरण गर्दै लिपिबद्ध गर्ने छ । यस्तै पहिलो राष्ट्रीय भेला २०२० को सेप्टेम्बर २६मा पनि भव्यताका साथ सम्पन्न भएको थियो।
