Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आइएम फाइन सर, एण्ड यु ? -दीपक विश्कर्मा

आइएम फाइन सर, एण्ड यु ? -दीपक विश्कर्मा

सतीश चापागाईं

१४, आश्विन २०७९
images
आइएम फाइन सर, एण्ड यु ? -दीपक विश्कर्मा


सपना देख्न कति लामो गहननीद जुर्नुपर्छ मान्छेलाई ? यसबारेमा मनोवेत्ता, दार्शनिकहरूका फरक विचार होलान् । सपनाबारे गहन जानकारी लिन दार्शनिक सिग्मण्ड फ्रायडलाई पढ्नु पर्छ । तर यहाँ मैले जुन सपनाको कुरो गरिरहेको छु, त्यो सपना गहननीदको समयमा आउने सपनाको कुरो होइन । मैले यहाँ मेरो जीवनमा आइपरेको आपत्तिलाई कसरी सल्टाउन सकिन्छ भन्ने सवालमा मानसिक उहापोहको अवस्थाको परिकल्पनाको कुरो गरिरहेको छु ।


व्यवहारतः सपना जुर्नुभनेको मानसिक द्वन्द्वको उथलपुथल रहेछ ।

म जुन परिस्थितिबाट गुज्रिरहेको थिएँ, बास्तवमा त्यो परिस्थिति आत्मदाहको परिस्थिति थियो । सबैकुराले खेदाइरहेका थिए मलाई ।

सुदुर क्षितिज जहाँ पुगेर हरेक बेलुकी घामले विश्राम लिने गर्दथ्यो, त्यही क्षितिजको एक कुनामा मेरी एक्ली आमा ससाना भाइबहिनीहरूलाई काखमा च्यापेर सायद निदाउने कोशिश गर्दिहुन् । र सपना बुन्दी हुन् । खसम कमाउन पर्देश गएका छन् । एकदिन मनग्ये धन कमाएर कम्मरमा पोको पारेर अगाडिपछाडि भरियालाई गुन्टा बोकाएर टुपुक्क आगन टेक्नेछन् । उनको आगमनमा घरआगनमा खुशीले मधुरगीत गाउने छ । छोरो जिल्लाबाटै छानिएर ठूलो स्कुलमा पढ्न गएको छ । पढीगुनी ठूलो सरकारी मान्छे बनेर आउने छ र ऋणधन सप्पै मिलाउने छ ।

उनलाई के थाहा ? धन कमाउने नाममा वर्षेनी बीसौमुरी मकै, पाथीकापाथी कोलो, तीलतिलहनको जोहो गरिदिने बालीघरे बिष्टहरूलाई च्यात्त छोडेर पर्देशीएको लाग्नेले मकैवारी र नङ्पोका बजारहरूमा कमाएको धन तीर खेलामा सक्छ र बचेको पैसाले संसारको हरकुनामा पाइने सोमरस पिएर मारूनी र पुर्सुङ्गेभाकामा रमाउने गर्दछ । पढ्न भनेर ठूलो स्कुलमा गएको जेठो छोरो अर्काकी छोरी बोकेर तिनै बाउलाई खोज्दै उतै पुगेको छ र उडन्ते सपनाहरूको संसारमा पौडि खेलिरहेको छ ।

यो यथार्थ कुनै काल्पनिक कथा होइनन् । नत कुनै औपन्यासिक पात्रका आत्मप्रवचना नै हुन् । जीवनको जुन दुरूह मोड मैले पारगरेँ त्यसेको स्वीकृति मात्र हो । सोह्रैआना साँचो ।


एसएलसी पास भएको पनि चार वर्ष पुरा भइसकेको थियो मेरो । दुई वर्षे आइएको पढाइ सकेर पनि साथीहरू बीएको अन्तिम वर्षमा पुगिसकेका थिए । बुर्जुवा शिक्षा बहिष्कार गरेर पार्टीमा भर्ती भएका विष्णराम गुरूङ्ग (किरण) क्षेत्रीय कमिटीभन्दा पनि माथि उकालो लागे हुनन् । पार्टीले विकास गरेर गाउँबस्तीमा ढपक्कै सांगठनीक विस्तार ग¥यो होला । सँगै खाइखेलेको, तँतँ र मम गर्दै तीन वर्ष सँगै पैठेजोरी खेलेका साथीहरूले एउटा मुकाम भेट्याइसके होलान् । पासा रामकृष्ण महर्जन, विनोद थकाली, अनिल हिराचन, अनिल तुलाचन, कृष्ण(प्रकाश नेपाल), ओमकार ज्ञवाली, मोहन तथा टेकराज ज्ञवाली, हितैसी मित्र कोष गरूङ्ग, शिव विजुकुच्छे र मलाई पहिलो रोजगारी दिलाइदिने मित्र उत्तम सिल्पकारलगाएत साथीहरूको नाम संझनामा आउँदा पनि मेरो मुटुमा सुल उठ्थ्यो ।

पढाइ नछोड साथी, राजनीति भनेको पढाइ सकेर गर्ने हो । हामीलाई मिसनले त्यत्रो खर्च गरेर पढाएको बीचैमा बरालिन होइन । पछिगएर निकै पछुताउन पर्ने छ । टेकराज, कृष्ण लगाएत साथीहरूले भनेकै हुन् मलाई । त्यसउसले पनि त्यो सुदुरपूर्व अनकण्टार जंगलको बासमा उनीहरूको चेहरा, उनीहरूले भनेका कुराहरू सम्झदाँ पनि अर्धवेहोस हुन्थेँ म । यी सब कुरोभन्दा पनि ममा महावेहोसी छाउने अर्को कुरो थियो, त्यो थियो अनिताजीको साथ ।

यो साथले मलाई साँच्चैको अधमरो बनाएको थियो । यद्यपि हाम्रो विवाह लभ म्यारिज थिएन । पार्टीको पहलमा एरेन्ज म्यारिज हो । त्यसको बन्दोवस्ती पार्टीले गरिदिएको थियो । उमेर नपुगेको म नाथेलाई बामदेव र विष्णु पौडेलको माकुरी जालमा फसाइएको थियो । विष्णु पौडेल पाल्पाको भूमिगत कार्यकर्ता, उनलाई पाल्पाली जनजीवनमा भिजेर काम गर्न यस्तै प्रकारका उखर्माउला काम गर्नु थियो । मेरो लगनगाँठो कसिदिएर वर्णवादको शुद्धतालाई हरहालमा जोगाउनु, जातीय रक्तशुद्धतालाई बचाएर राख्नु बामदेवको परम कर्तव्यमात्र होइन उद्देश्य पनि थियो । खासभन्ने हो भने मेरो विवाहको उमेर भएकै थिएन ।

जिम्ेवारकिो हिसावले कास्की जिल्ला कमिटीसम्म पुगेको थिएँ । दर्शन, अर्थशास्त्र, रानीति, अर्थशास्त्र, इतिहास, माक्र्सवादलगायत एक कम्युनिष्ट पार्टीको कार्यकर्ताले जान्नुपर्ने र पढ्नुपर्ने विषयबस्तुको बारेमा भर्खर पाइला चाल्दै थिएँ । समग्रमा भन्नुपर्दा म अनिताजीसँग घरजम गर्न कुनै पनि हिसावले योग्य थिइन । उमेरको हिसावले, दुई परिवारको आर्थिक हैसियतको हिसावले र सबभन्दा प्रमुख कुरो त उमेरको हिसावले नै ।


हो, यहि र यस्तै सवालहरूले मलाई बेलावखत अर्धवेहोसीमा पु¥याउँथे ।

यसउसले पनि मलाई सपना देख्नु थियो । सपनालाई मुठ्ठिमा कसेर त्यसैको बेगसँग लुकामारी गर्नु थियो । क्षणभरमै धन कमाउनु थियो । धन कमाउन काम गर्नु प¥यो । हो, त्यहि कामको मेसोको प्रतिरूप थियो कृषि औजार उद्योगको अर्को उखर्माउलो सपना ।


एङ्लो इन्डियन बैंक मेनेजरले तैयार गर्न लगाएका कागजहरूमध्ये गाउँबुडाबाट स्थानीय बसोबासको एकथान कागज तयार भयो । त्योभन्दा पहिले रणबहादुरदाइको सनाखतमा रूपैयाँ एकसय भारू जम्मा गरेर रविन्द्र विश्वकर्माको नाममा खाता पनि खोलिभ्याएको थिएँ । त्यसपछिको अलि झन्झटिलो कागजको काम थियो, नङ्पो इलाका प्रशासनबाट उद्योग स्थापनाको कागज बनाउनु पर्ने । रणबहादुर दाइले ममाथि समय दिन नसक्ने, मोति पाण्डेदाइ विशुद्ध गाईपालक, उहाँले पनि मेरो काममा हात बढाउन नसक्ने, यिनै परिस्थिति उपर रोमलिँदै एकपटक गएर बैंक मेनेजरलाई भएका कागजपत्र पेश गर्ने र बातबाँकी कागजपत्र पछि पेश गर्नेगरी मैले माग गरेको ऋण रकम स्वीकृत गरिदिन अनुरोध गर्ने मनस्थिति बनाएँ ।

मनस्थिति त बनाएँ, तर महाप्रलय बनेर निवेदनको भूत मेरो अगाडि आयो । नेपालीमा लेख्न भएन । हिन्दी भाषामा राम्रै कुराकानी गर्न सक्थेँ । तर लेख्नसक्ने हैसियत बनाइसकेको थिइन । कहावत छ, मर्नुभन्दा बहुलाउन निको । म पनि बहुलाउने नै निर्णय गरेँर डियर मेनेजरबाट शुरूवात गरेर जसोतसो विषयवस्तुलाई समेटिने प्रकारले एकताउ निवेदन लेँखे । त्यो निवेदनलाई लेख्न, हिज्जे शुद्ध बनाउन, शब्दगठन मिलाउन, सकेसम्म सुन्दर अक्षर बनाएर लेख्न दुई दिन लागेको थियो मलाई ।


बैंकमा खाता खोलेको पासबुक, जसमा रूपैयाँ एकसय भारू अंकित थियो, गाउँबुढाले बनाइदिएको स्थानीय बसोबासको कागज र दुई दिन खर्च गरेर तैयार गरेको निवेदन लिएर म पुँगे स्टेट बैंक अफ इन्डियामा । अफिसहरूमा जाँदा, हाकिमहरूको कोठामा पस्दा “मे आइ कमिङ्ग सर” भन्नुपर्छ भन्ने कुरो मलाई पहिल्यै जानकारी थियो । कक्षा तीनमा पढ्दा“पढ्दिन अब, गाई चराम्नीहुम्” भन्ने मुर्खतापूण आवेगमा एकवर्ष कक्षा हापेर अर्को वर्ष बाआमाले पुन स्कूल भर्ना गरिदिँदा कक्षा कोठामा पस्दा उपरोक्त मे आइ कमिङ्ग सर भन्न नसक्दा गुरू भेषबहादुर कुँवरको हातबाट बेहोर्नु परेको रामधुलाईले मलाई जहाँ जाँदा पनि उपरोक्त कथनले झस्क्याउने गर्दथ्यो ।


म बैंक पुग्दा मेनेजर आफ्नो कार्यकक्षमा बसिसकेका रहेछन् । अफिस भित्र पसेपछि गार्डसँग अनुमति लिएर म उनको कोठामा पसे । भित्र पस्दा मे आइ कमिङ्ग सर भन्नचाहिँ भुलिन । बडो सदासयताका साथ कुर्सिमा बस्ने इसारा गर्दै अंग्रेजी मै मेरो सन्चोविसन्चो बारे जानकारी लिए । हेलो रविन्द्र हाउ आर यु ? यस्तै यस्तै ।


एसएलसीको परिक्षा दिएपछिको लगत्तैको मालेपार्टीको संगतले काम गरेर जिउनु पर्छ, अरूमाथि भर पर्नुहुन्न भन्ने मूलमनत्रलाई खुब सिकिएको थियो । त्यहि सिकमुताविक म एउटै क्लासको साथी उत्तम सिल्पकारको जेठो दाजुको तिप्लेढुङ्गा स्थित ग्रील उद्योगमा काम गर्न पुगेको थिएँ । यद्यपि रिजल्ट नहुँदासम्मको लागि पनि पोखरामा बस्नखान हामी मिसनको छात्रबृत्तिमा छानिएर गएका विद्यार्थीहरूलाई स्कुलमार्फत मिसनले नै खर्च उपलब्ध गराउँथ्यो । तर, त्यो पैसाको लोभका साथीहरू पोखरामा बस्दैनथे ।

कृष्ण (प्रकाश नेपाल)जीले लामाचौर स्कुलमै अंग्रेजहरूलाई नेपाली भाषा सिकाउनु हुन्थ्यो । टेकराज, मोहन, ओमकार ज्ञवाली लगाएत साथीहरूका अभिभावक सचेत र शिक्षित थिए । उनीहरूको पारिवारिक हैसियत पनि राम्रो थियो ।

ओमकार ज्ञवालीका पिताजी त गुल्मी जिल्लाकै नामी ब्यक्ति हुनुहुन्थ्यो । जिल्ला शिक्षा कार्यालयमा उहाँको आवद्धता थियो र स्वअध्ययनबाट अंग्रेजीलाई निकै माथि पु¥याउनु भएको थियो । मित्र ओमकारले पिताजकिो कुरो उल्लेखगर्दै मेरो बखान गर्थे“यार छवि छोरो हुनु त भाडगाउँको छविलालजस्तै” भन्दै हामीलाई पिताजीले हमेशा ताना कस्नु हुन्थ्यो, के गरेयो थिस् र तेरो यति प्रशंसक बन्नुभो हाम्रा बा ?


हामी ससानो छँदा तम्घासमा केही चर्चित युवाहरूको जगजगी थियो । ज्योति श्रेष्ठ, ताराबहादुर थापा, झविन्द्र मरासिनी, यज्ञेश्वर मरासिनी, हिराबहादर भलामी, लक्ष्मी थकाली, गणेश श्रेष्ठ, श्रवण नेपाली, ईन्द्र तुलाचनलगायत दाजुहरूको चकचकी थियो । उहाँहरू सबै मेरा अग्रज र सम्मानीय हुनुहुन्छ । ईन्द्र दाइ देख्नमा पनि हिरोजस्तै देखिनुहन्थ्यो ।

अग्लो ज्यान, गोरो थकाली वर्ण, मिलेको चेहरा, उहाँसँग गुल्मेलीको नाताले राम्रै जानपहिचान थियो मेरो । हामी पोखरा छँदै उहाँले बैदाममा जग्गा किन्नु भएछ । सोही जग्गामा खोल्नुभयो टुरिष्ट होटेल । त्यो होटेलमा मैले एकाध महिना टुरिष्ट गाइडको काम गरेँ । सिल्पकार दाजुको ज्रील उद्योगमा काम त राम्रै थियो, तर भाउजुले जहिल्यै रातीको बासीभात खुवाउने कारणले काम गरिरहन मन लागेन र ईन्द्रदाइलाई खोज्दै बैदाम पुगि नोकरी दिन अनुरोध गरेँ ।

नोकरी दिनुभयो दाइले । काम थियो पोखरा एयरपोर्ट जाने, पोखरा घुम्न आउने विदेशी पर्यटकहरूलाई उहाँको होटलले प्रदान गर्ने सुविधाको लम्बेतान ब्याख्या गर्ने र उनीहरूलाई होटलमा लिएर आउने ।

हो! यहि छोटो समयको गाइडको कामले मेरो ओरल अंग्रेजीलाई थोरै भएपनि सुधार्ने अवसर मिलेको थियो । सामान्य कुराकानी गर्न, अरूले बोलेको बुझ्न, जवाफ फर्काउन सक्ने भएको थिएँ म ।


एङ्लो इण्डियन बैंक मेनेजरले अंग्रेजीमा 'हाउ आर यु रविन्द्र?' भनेर सोध्दा मैले पनि निर्धक्क जवाफ फर्काएको आजसम्म पनि संझना छ ।

उत्तर दिएको थिएँ—'आइएम फाइन सर, एण्ड यु ?'


२०७९, आश्विन १३
बुटवल ।

images
प्रकाशित मिति :आश्विन १४, २०७९ शुक्रवार - २३:३९:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend