रवि लामिछानेको नागरिकता विवाद संगै संसारभरका नेपालीहरुमा तरंग सिर्जना भएको छ ।
यसै क्रममा एनआरएनए अमेरिकाले जारी गरेको विज्ञप्ति यसप्रकार छ:
‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने गैर आवासीय नेपालीहरूको मूल मन्त्रलाई खिया लगाउने खालका कतिपय गतिविधि र निर्णय भइरहेको देख्दा र सुन्दा दुखित भएको छु । जति नै विकसित र वैभवशाली देशमा बसोबास गरे पनि नेपालको माटो, नाता गोता र आफन्तसँगको कहिल्यै नटुट्ने सम्बन्ध छ । धर्म, संस्कार, संस्कृति चाडबाडले मुटुहरूलाई गाँसेको छ । नेपाल र नेपालीको दुख सुखमा साथ सहयोग गरिनै रहेका छौ । विदेशमा हामीले गरेको श्रम र कडा परिश्रमले नेपाललाई सिञ्चित गरिरहेका छौँ । तर तिमि पराई भयौ । अव एक पटकको नेपाली सधैँको नेपाली हुन सक्दैन भन्दै ढोका बन्द गरिनु दुखद हो ।
हामी देशको कानुन र विधि प्रक्रियाको सम्मान र पालना गर्छौ । देशका सबै राजनीतिक दलहरू मिलेर एक पटकको नेपाली सधैँको नेपाली रहन्छ भन्ने कुरा संविधान मै लेखिदिनुस् । नेपाल चरम गरिबीबाट छिटै माथि उठोस् । अवसरका लागि नेपालीहरूले विदेश जाने दिन छिटै अन्त होस । तर अहिले नै भने बाध्यताले विदेशीएकाकै रेमिट्यान्सले धानिएको देशले उनीहरूको फर्कने ढोका साँघुरो बनाउने र बन्द गर्ने भन्दा फराकिलो र खुला गर्दा मात्र नेपाल र सबै नेपालीको हित हुने छ । पछिल्ला घटनाक्रमबाट गैर आवासीय नेपालीहरूले नेपालसँगको संवन्धलाई अटुट बनाउन अझै धेरै सङ्घर्ष र काम गर्नु पर्ने रहेछ भन्ने महसुस भएको छ ।
धन्यवाद
बुद्धि सागर सुबेदी
अध्यक्ष, गैर आवासीय नेपाली सङ्घ अमेरिका