चलचित्र 'बगान' अहिले नेपालका हलहरुमा लागिरहेको छ । यो चलचित्र अमेरिकामा पनि प्रदर्शन भईसकेको छ । अरु चलचित्रमा कमै सुनिन्थ्यो कथाकारको नाम । तर चलचित्र बगानकी कथाकार स्वप्निल नीरव भने नायक, नायिका, निर्देशक, निर्माता र कलाकारहरुजस्तै चर्चाको शिखरमा छिन् । 'बगान' चलचित्रसंगै चर्चित स्वप्निल नीरवसंग नेप्लिज डायस्पोराका लागि प्रधान सम्पादक सतीश चापागाईले गरेको कुराकानी प्रस्तुत छ :
तपाईले लेखेको कथा चलचित्र बनेर चर्चा कमाईरहेको छ । कथाकारका स्वप्निल नीरवका लागि यो कस्तो क्षण हो ? यो एउटा उत्सव हो या समय कै सामान्य खेल हो ?
-समयको खेल भन्न मिल्दैन । हरेक लेखक या सर्जकका लागि उसको सिर्जनाले उचित मूल्य र स्थान पाएको दिन उत्सव नै हो ।
यो कथाको प्लट आफ्नै आमाको जीवनमा आधारित छ भनेर भन्नुभएको छ । कतिसम्म आमाको जीवनमा मेल खान्छ र कति काल्पनिकता छ ?
केही घटना मात्रै मेरो आमा र मसँग मेल खान्छ । बाँकी सबै काल्पनिक हुन् । यो कथा मेरो आमाको जीवनको जगमा तयार भएको हो । यसमा धेरै आमाहरुको जीवन जोडिएको छ ।
जवानी मै श्रीमानको मृत्यु भएपछि जीवन नै सकिने यो चलनकाप्रति बिहंगम दृष्टि बनाउन र कल्पनामा डुब्न समाजका अरुकुन कुन घटनाले तपाईलाई चिमोटे?
पुरुषको मृत्युपछि एकल महिलालाई हेर्ने हाम्रो समाजको दृष्टिकोण नै चिमोट्ने खालको हुन्छ । तर एउटा घटनाले मलाई विशेष चिमोट्यो । मेरो बाको तेह्र दिने काम चलिरहेको थियो । मैले आमाको लागि रातो रङ मिसिएको लुङ्गी ल्याइदिएको थिएँ । बाको १३ दिनको किरिया कर्म सकिएर लुगा फेर्ने बेलामा त्यो लुगा आमाले लगाउन खोज्दा नजिकको आफन्तले यही कुरामा ठूलो विवाद मच्चाउनु भयो । मैले यस विषयमा मैले विरोध गरेँ तर आमाले मलाई चुप बनाउनुभो । म त्यतिबेला चुप बसेपनि त्यो कुराको प्रभाव पछिसम्म परिरह्यो ।
कथा तयार भएपछि छापिने बेलासम्म तपाईले पाएका प्रतिक्रिया प्रशंसाले भरिएका थिए की आलोचनात्मक?
यो कथा लेखेर छापिएपछि आलोचनाभन्दा प्रसंशा नै पाएको थिएँ ।
तपाईको आफ्नै कथाहरु र कथा संग्रहहरुको बारेमा बताईदिनुस न !
मैले धेरै कथाहरू लेखेँ तर कम मात्रै छापिएका छन् । एउटा कथा संग्रह छ 'उज्यालोतिर' प्रकाशित छ । बाह्रखरी प्रतियोगिता २०७८ मा मेरो कथा 'बुढो घर'ले द्वितीय पुरस्कार पाएको थिएँ ।
यो कथाले चलचित्रसम्मको उडान कसरी भर्यो ? कसरी निर्देशक र निर्माताको आंखामा पस्यो, मन र मष्तिस्कमा बस्यो ?
यो कथा एउटा संयुक्त कथा संग्रहमा प्रकाशित थियो । निर्देशक सरोज खनालले संग्रहका कथामध्ये मेरो कथा मन पराउनुभएछ । त्यसपछि उहाँले मलाई फोन गर्नुभयो । यसरी बगानले कथादेखि फिल्मसम्मको उडान भर्यो ।
चलचित्रको नाम बगान कस्ले राख्यो ? मन पर्यो कि परेन?
बगान नाम फिल्म बन्नु अघि नै मैले राखिसकेको थिएँ ।
चलचित्रले तपाईको कथालाई कतिसम्म न्याय गर्यो ? तपाईकै कथाको आधारमा भन्नुपर्दा ‘यो कुरा हटाएको भए हुने वा यो चिज राख्नै पर्ने’ भन्ने त्यस्तो केही छ?
फिल्मको कथामा अलिली परिमार्जन गरिएको छ । कतिपय संवाद छन् जुन नराखिएको भएपनि खास फरक पर्ने थिएन । पटकथामा पनि अलि धेरै ध्यान दिनुपर्थ्यो । एउटा लेखकको नाताले म फिल्ममा प्रष्टता खोज्छु । भन्न खोजेको कुरा दर्शक पाठकलाई दिक्क नलाग्ने गरी भन्नुपर्छ । हुन त यो मेरो कुरा भयो । फिल्मलाई कति मसालेदार बनाउनुपर्छ भन्नेकुरा निर्देशक र मेकर्सलाई ज्यादा थाहा हुन्छ ।
बगानका निर्देशक, निर्माता र कलाकारका बारेमा केही भन्नु छ?
उहाँहरूले राम्रो काम गर्नुभएको छ । सरोज खनालजीको पहिलो निर्देशनमा बनेको फिल्म हो । राम्रो काम गर्नुभएको छ । फिल्मका अन्य कलाकारको अभिनय पनि राम्रो छ । नवनायिका प्रमिला कार्कीको अभिनय एकदमै प्रसंशनीय छ ।
आफैले लेखेको कथा चलचित्र बनेपछि खुशीयालीको खाता मात्रै थपियो कि बैंकको खाता पनि थपियो?
एउटा लेखक उसै पनि ओझेलमा पर्छ । प्रकाशक, निर्माता निर्देशकहरूले कथालाई कमै महत्त्व दिने गर्छन् । मेरो यो बगानको मामिलामा पनि उस्तै हो । खुसीयालीको खाता त भरिपूर्ण छ तर बैंक खाता त्यस्तै हो ।
चलचित्र नै बन्नसक्ने अरु पनि कथाहरु तपाईसंग होलान नी है ?
म लेखक हुँ । म लेख्ने काम गर्छु । मेरो कथा फिल्म बन्न लायक छ छैन भन्ने कुरा म सोच्दिन । लेखकले आफूले देखे भोगेका र भोलि हुनसक्ने कुरा लेख्ने हो । कथाकारले लेखेको कथा फिल्म बन्नु भनेको निर्माता निर्देशकलाई मन परेपछि मात्रै न हो । हरेक निर्माता निर्देशकको आफ्नो रोजाइ हुन्छ । कथाकारले मेरो कथा फिल्म बन्न लायक छ भन्दैमा बन्ने पनि होइन ।
तपाईका अरु कथाहरु पनि चलचित्र बनेको देख्न पाउंछन त दर्शकले ?
म यसै भन्न सक्दिन । म लेख्दै जानेछु । यस्तै संयोग जुरेछ भने अवस्य मेरा कथामा फेरि पनि फिल्म बन्न सक्छ । आशावादी रहौँ ।