Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

रक्तदाता अर्जुन मैनाली जलेको गाडीमा मृत भेटिए

रक्तदाता अर्जुन मैनाली जलेको गाडीमा मृत भेटिए

सतीश चापागाईं

२९, माघ २०८०
images
रक्तदाता अर्जुन मैनाली जलेको गाडीमा मृत भेटिए

फेसबुकमा आत्मदाह गर्छु भन्ने स्टाटस राखेको केही घण्टा मै चर्चित रक्तदाता अर्जुन मैनाली भाडाको गाडीमा जलेको अवस्थामा मृत भेटिएका छन् । अमेरिकाको नर्थ क्यारोलाईनाको लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनी भेटिएका थिए । उनी ५८ बर्षका रहेको बुझिएको छ ।

नेप्लिज डायस्पोरालाई त्यहांका एक नेपालीले दिएको जानकारी अनुसार मैनालीले आफ्नो झोला र मोबाईल गाडीभन्दा केही टाढा राखेर आफू गाडीभित्र बसी गाडीमा आगो लगाएको देखिन्छ । 

उनको शरीर आगो लागेको गाडीभित्र जलेर मृत अवस्थामा प्रहरीले भेटेको हो । यो संसारबाट विदा लिन लागेको भनेर फेसबुकमा स्टाटस राखेको ३ घण्टामै उनी मृत भेटिएका हुन ।

 

 

मैनालीले फेसबुक स्टाटसको शुरु मै लेखेका छन्

प्यारी श्रीमती तारा,

धेरै धेरै माया ।

आज म परलोक जादैछु ।

उनको यो फेसबुक स्टाटसपछि उनलाई परिवार, आफन्त र साथीभाईहरुले खोज्न हिडेका थिए र प्रहरीलाई तत्काल खबर गरेका थिए । 

उनले चलाउदै आएको फोनको लोकेशन ट्र्याक गर्दै जादा उनको गाडी प्रहरीले भेटेको थियो । प्रहरीले घटनास्थललाई तत्काल कन्ट्रोलमा लिएपछि त्यहां पुगेका कोही नेपाली भित्र पस्न पाएका थिएनन् । पछि एकजना प्रहरी आएर परिवारलाई झोला बुझाउदै उनी मृत भएको खबर छोडेर गएको स्थानीय युवा अशोक अर्यालले नेप्लिज डायस्पोरालाई जानकारी दिए ।

मैनाली एक हप्ता अघि मात्र नेपालबाट अमेरिका फर्किएको बुझिएक छ । उनी छोरीको बिबाह गर्न श्रीमतीसंगै नेपाल पुगेका थिए । अमेरिका आएपछि चारदिन अगाडी मात्र उनले एउटा गाडी भाडामा लिएर घरभन्दा केही पर राखेर आत्महत्याको योजना बनाईरहेको खुल्दै गएको छ । घरमा दुईवटा गाडी हुदाहुदै उनले यो गाडी भाडामा लिएका थिए । जुन कुरा उनले आफ्नो फेसबुक स्टाटसमा पनि उल्लेख गरेका छन् ।

मैनालीले आईतबार दिउसो गाडी लिएर निस्किएका र केही बेरमा श्रीमतीलाई फोन गरेर "म एउटा पोखरीको नजिकै छु है, केही पीर नगर !" भनेर फोन काटेका रहेछन । त्यसपछि श्रीमतीले कल गर्दा उनको फोन नउठेको पनि स्थानीय व्यक्तिहरु बताउछन् । 

"मैनालीले हिजो नै केही आफन्त र साथीभाईहरुलाई फोन सम्पर्क गरेर हेलो हाई गरेका रहेछन । मलाई पनि फोन आएको रैछ । मैले कल मिस गरेछु ।" नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष भोला आचार्यले भने । आचार्यका अनुसार फोनमा कुरा गरेका साथीहरुसंग उनले सामान्य कुराकानी मात्र गरेका रहेछन ।

अहिले अमेरिका र विश्वभरका नेपाली माझ यो अप्रिय घटनाको खबर आगो झै फैलिएको छ । उनलाई चिन्नेहरु सबै अचम्ममा परेका छन र दुखीत छन् । 

२ सय ६ पटक रक्तदान गरेर रक्तदान क्षेत्रमा चर्चा कमाएका मैनाली ब्लड डोनर्स एशोसिएसन अमेरिकाका संस्थापक अध्यक्ष हुन् । अमेरिकाका धेरै राज्य र संसारका धेरै देशमा पुगेर उनले रक्तदान गरेका थिए । प्राप्त जानकारी अनुसार उनले ६ महादेशका २० देशमा पुगेर रक्तदान गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको ठहरिएको छ । मैनालीको शब अहिले नर्थ क्यारोलिना प्रहरीले लगेका छन् । अनुसन्धानपछि शब परिवार र आफन्तले बुझ्न सक्ने प्रहरीले बताएको छ ।

शब प्राप्त भएपछि कसरी व्यवस्थापन गर्ने भनेर छलफल हुदै गरेको पनि स्थानीय युवा अशोक अर्यालले बताए । "हामी हिजो दिउंसैदेखि मैनाली परिवारसंग सम्पर्कमा छौं । राती पनि उहांहरुलाई कुरेर बस्यौं । अब के गर्ने भन्ने बारेमा छलफल गर्दैछौं ।" अर्यालले भने ।

सन् २००० मा अमेरिकन एशोसियसन अफ ब्लड बैंकको बार्षिक सम्मेलनको निम्तामा अमेरिकाको वासिंगटन डिसी आएका मैनाली त्यसपछि यहि बसेका थिए ।

मैनालीका श्रीमती एक छोरी र एक छोरा छन् ।

 

मैनालीको फेसबुक स्टाटस यस्तो थियो :

प्यारी श्रीमती तारा,

धेरै धेरै माया!

 

आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफु असल परिवार र सँस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे तिनिहरुका ९-१० बर्षकी छोरी, १३-१४ बर्षका छोरा सहित हाम्रो घरमा आयर गरेको  झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिय, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थियन । उसले आफ्नो स्वास्निको गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सन बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाइ उसले सुनकै घर बनाएर दिय पनि पुर्ती हुन सक्ला त?

 

छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ ।  बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, 'यो कारमा को आएको छ'? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन । 

 

गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनिय चित्कार, दु:खले रमेश अस्मिताको मनलाई धेरै शितल र शुखानुभुती हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ । मेरो दु:खत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दीइ रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन । मैले बिगत ३६ सम्म गरेका कर्म-धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले 'द गिफ्ट अफ लाइफ' प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन । प्रेरित हुन । अरु के भनम! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाइ राखेँ । आज बिगत १ बर्षदेखिको दु:ख सकिदै छ । 

 

म, तिमी, छोरा-छोरी (अमुन-अमित) र आमामा धेरै क्रितग्य छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा-छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कु द्रिष्ट्री पर्‍यो । सबै सत्यनास भयो । अब मैले बारबार जन्म लिनु नपरोस । यदी परेमा फेरिपनी तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिती आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ती मिलोस । तिम्रो श्रीमान । ॐ नम शिवाय ! 

 

ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं

भर्गो देवस्य धीमहि

धियो यो नः प्रचोदयात॥

IMG_5332.jpeg

images
प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १९:११:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend