Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखहरुसँग राष्ट्रपति

उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखहरुसँग राष्ट्रपति

सतीश चापागाईं

२४, बैशाख २०८१
images
उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखहरुसँग राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई आग्रह गर्नुभएको छ । 

उपत्यकाका महानगर, नगरपालिकाका प्रमुख एवम उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्षहरुसँग शीतलनिवासमा सोमबार भएको भेटमा राष्ट्रपति पौडेलले सो आग्रह गर्नुभएको हो । 

उहाँले जल्दोवल्दो समस्याका रुपमा रहेको जलवायु र वातावरण मानव अस्तित्व र पृथ्वीको सुरक्षासँग जोडिएको एजेण्डा भएकाले यसमा सबै पालिकाले ध्यान दिन सके सिंगो देश स्वच्छ, सफा र सुन्दर हुने बताउनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो । 

उहाँले वायु प्रदुषण उपत्यकाभित्र बढ्दै गएको हुँदा यसलाई निश्चित मापदण्डभित्र राख्न कार्यक्रम सञ्चालन गर्न, वरपरका वनजंलमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न यथासम्भव प्रयास गर्न तथा सामुदायिक शिक्षाको गुणस्तरमा महानगरपालिकालगायत नगरपालिकाको अनुगमन सशक्त बनाई गुणस्तर बढाएर जीवनोपयोगी शिक्षाका लागि ध्यान दिन पनि आग्रह गर्नुभयो । 

त्यस्तै राष्ट्रपति पौडेलले असहाय, बालबालिका तथा बृद्धलाई कार्यक्रमसहित सहारा दिने, उपत्यकाभित्र निर्माण हुन लागेका बाटो, धाराहरूलाई गुणस्तरीय रुपमा सम्पन्न गर्ने तथा परम्परादेखि हाम्रो सभ्याताका रुपमा रहेका चौतारी र पोखरीको संरक्षण, नयाँ पार्क (चौतारी) र पोखरी निर्माण गरी हरियालीसहित वातावरणीय स्वच्छता बढाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले उपत्यकाको फोहोर मैला व्यवस्थापनमा केही सुधार आएको तर अहिलेको व्यवस्थापन दिगो होइन यसको दीर्घकालीन र स्थायी समाधान खोज्नुपर्ने सुझाव दिनुभयो । फोहोर शुरुबाट वर्गीकरण गरी प्रविधिको प्रयोगसहित वैज्ञानिकरुपले समाधानको विकल्प खोज्नुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले वातावरणमैत्री स्थानीय शासनको प्रवद्र्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

सो अवसरमा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले सामूहिक सोच र सहकार्यका साथ साझा समस्या समाधानमा अघि बढ्ने धारणा व्यक्त गर्नुभएको थियो ।

images
प्रकाशित मिति :बैशाख २४, २०८१ सोमवार - २०:५४:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend