देशमा ०४६ सालको आव्दोलन हुदा म कक्षा ६ मा थिएं । चैत्र २६ गते दिउंसो २ बजेतीर भानुभक्त मावि बर्दलेका केहि विद्यार्थीहरु हाम्रो विद्यालय जनकल्याण निमावि (तत्कालिन) मा आए । एकछिन हल्लाखोर भयो । अनि उनीहरुले हुंगीको स्कुलसम्म पुग्ने भने । भीडमा धेरै अभिभावकहरु हुनुहुन्थ्यो र मेरो बुबा पनि हुनुहुन्थ्यो । लामो समय भारतमा बिताएपछि सधैका लागि देश फर्कनु भएको थियो । स्कुल अगाडी सानो किराना पसल चलाउनुहुन्थ्यो । ५ मिनेट हिंडेपछि केही अभिभावक त्यहि रोकिएर हामीलाई अघि बढ्न भन्नुभयो । बुबाले मलाई भन्नुभयो “जता गएपनि साथीहरु संगसंगै हिड्नु, नछुट्नु ।” त्यसपछि शंख फुक्दै, जिन्दावाद र मुर्दावाद भन्दै जनकल्याण मावि हुंगीसम्म पुग्यौं र फर्कियौं । अर्कोदिन देशमा प्रजातन्त्र आएको थियो ।
त्यसपछि पनि देशमा अनेक आन्दोलन भए । समय अनुरुप र पेशा अनुरुप सहभागी भैयो । ६२/६३ को आन्दोलनमा राजा ज्ञानेन्द्रको सरकारले रेडियो नेपालको करारको जागीर खाईदिएको थियो । परिवर्तनका हरेक आन्दोलनमा सहभागी भएका नाताले बर्तमान व्यवस्थामा लागेको खिया फाल्न जेन जी पुस्ताले देखाएको यो आंट र आन्दोलनप्रति मेरो ऐक्यबद्धता छ ।
हुन त देशमा मैले पनि लडेर ल्याएको लोकतन्त्र छ । त्योभन्दा धेरै लुटतन्त्र छ । विकासका नाममा बाटो, बिजुली र अरु धेरै कुरा भएका छन् । तर, मुठ्ठिभर मान्छेको पहुंचमा छन् सबै सुबिधा । देशमा पढ्न मात्र पाईन्छ, रोजगार पाईदैन । विदेशिनु पर्छ । विदेशी ऋणले देश चल्छ, विदेशबाट पठाएको रेमिट्यान्सले देश चल्छ । तीन तिकडमबाज देउवा, ओली र प्रचण्डको तिकडमको शिकार भएको छ लोकतन्त्र । व्यवस्था नै पंगु बनाएका नेताहरु स्विकार्य छैनन् ।
यतिबेला मेरा आंखामा आंशु छन् दुईटा कारणले : पहिलो त्यो बेलामा आन्दोलनमा आफ्नो सन्तान पठाउने बुबालाई सम्झेर, जसको भोली श्राद्ध छ । र दोश्रो, आज ज्यान गुमाएका होनहार यूवाहरुलाई सम्झेर, जसको भोली दाह संस्कार र श्रद्धाञ्जली छ ।
०४६ सालको आन्दोलन एक महिनापछि गाउंबस्तिमा पुगेको थियो । यो आन्दोलन अलि छिट्टै पुग्ने छ । छिट्टै सफा हुनेछ देशको राजनीति र पलाउनेछ नयां आशा !
सरकार ! आन्दोलन सडकमा हुदैन । आन्दोलन मनमा हुन्छ । सडकमा त उत्रिने र देखिने मात्र हो ।
मनको आन्दोलनलाई सरकारले कुन गोली हानेर रोक्न सक्ला र खै ?