मुक्तक १.
सकिनँ असल मान्छे बन्न, कमजोर भएकी रहेछु
भाग्यलाई धिक्कार्दै सधैँ, कमजोर भएकी रहेछु
अचानक आँखा रसाएपछि मात्रै बल्ल थाहा पाएँ,
सोचेभन्दा त झन् धेरै, कमजोर भएकी रहेछु ।
मुक्तक २.
मनमा सजाएका सपनाहरू टुटेपछि के गर्नु
आँखाबाट आँसुका मूलहरू फुटेपछि के गर्नु
यी दुई थोपा आँसुलाई नै सहयात्री बनाएकी छु,
आफ्नै भाग्यले आफैँलाई लुटेपछि के गर्नु ?
मुक्तक ३.
भविष्य नसोच्ने मान्छे विगतको कुरा गर्छ
मन दुखाउनेले नै फेरि अभिमतको कुरा गर्छ
जसले हिजो मलाई काट्न खुकुरीमा धार लगायो,
आज उही आएर मेरो हिफाजतको कुरा गर्छ ।
मुक्तक ४.
नजिकै गएर मुसुक्क मुस्कुराई साथ दिनुहोस्
थोरै भए पनि उसको हौसला बढाई साथ दिनुहोस्
आफन्तलाई महँगा उपहार दिएर खुसी पार्नुभन्दा,
अप्ठ्यारोमा परेका मान्छेलाई सधैँ साथ दिनुहोस् ।
मुक्तक ५.
सुखलाई भुलेर दुःख अँगाल्न सिक्नुपर्छ भनेर
आफ्नो जिम्मेवारी आफैँ सम्हाल्न सिक्नुपर्छ भनेर
यो समय र जिन्दगीले सिकाउँदै लगेको छ मलाई,
खुकुरीको धारमा पनि पाइला चाल्न सिक्नुपर्छ भनेर ।
- खुसी खतिवडा
कैलाली ।