हजारौंको संख्यामा रहेका नेपाली अनलाइनहरुको माझमा हामी पनि आएका छौँ ।
परदेशमा रहेर घरदेशको चिन्तासँगै परदेश कै हाम्रा जीवनचर्याका दैनिकीहरुलाई प्राथमिकताका दिने उद्देश्यले नेप्लिज डायस्पोरा डटकमको सुरुवात गरेका छौँ ।
नेप्लिज डायस्पोरा डटकम प्रवासमा रहेका नेपालीको कथा र व्यथामा आधारित अनलाइन हो । पसिना र सपना यसको मुख्य नारा हो ।
नुन किन्नदेखि नुन किन्ने बन्नसम्मका लागि हामी परदेसिएको इतिहास हो । यही इतिहासको गर्तमा टेकेर आजसम्म पनि नेपालीको परदेसिने क्रम रोकिएको छैन । नेपाल देशको ठूलो जनसंख्या विदेशी भूमिमा बसोबास गर्दै आएको छ । भूगोलको नेपाल छाडेर भावनाको नेपालमा रमाइरहेको यही समुदायको आवाज बन्ने जमर्को हेतु यो अनलाइन सञ्चालन गर्दैछौँ । यो अनलाइन नेपाल छाडेर विदेश बसेका नेपाली र नेपालीभाषी भुटानीहरुको विषयवस्तुमा केन्द्रित हुनेछ ।
समाचारको विचार र विचारको विस्तार हाम्रो मूल ध्येय हो ।
रहरले छाडे पनि कहरले छाडे पनि देश छाडेर हिँडेको दिनदेखि हरेक नेपालीको आत्मामा देखाउन नमिल्ने ठेस लागेको छ । परिवारको रोजीरोटीदेखि देशको समृद्धिसम्ममा यिनै नेपालीको रगत पसिनाले अहम भूमिका खेलेको छ । विदेश भासियो भनेर अब गाली मात्र खाने होइन बरु आफै व्यवस्थित भएर र प्रेरणास्रोत बनेर सम्मानित हुने वातावरण सिर्जना गर्नु हाम्रो आफ्नै कर्तव्य हो । अरुलाई औँल्याएर होइन आफै सुध्रिएर परिवर्तनको सम्वाहक बन्नु नै विदेशमा रहेका हरेक नेपालीको पहिलो काम भएको छ । जबसम्म राम्रा कामको प्रशंसामा भन्दा नराम्रा कामको बद्ख्वाइँमा धेरै समय खर्चिन्छ तबसम्म कुनै समुदाय र समाजले प्रगतिको पथ पहिल्याउन सक्दैन ।
तसर्थ, हामी पनि हाम्रा वरपरका हरेक सत्कर्महरुको खोजीखोजी सम्प्रेषण गर्नेछौँ । यस पवित्र कार्यमा सबैको उत्साहजनक सक्रियता र सहयोग प्राप्त हुने विश्वास गरेका छौ।
खासमा 'हामी पलायन होइन, विस्तार भएका हौँ।' संसारभर विस्तार भइरहेका हरेक नेपालीको आ–आफ्ना कथा व्यथा छन् । जरा नेपालमै राखेर संसारभर हाँगाबिँगा फ़ैलाईरहेको नेपाली जातिको संघर्ष र सफलताका कथाव्यथा नेप्लिज डायस्पोरामा समेटिनेछ ।
पाठकका रचनात्मक सुझावप्रति हामी सदैव सकारात्मक हुनेछौं ।
सतिश चापागाईं
प्रधान सम्पादक र प्रकाशक