Logo

बुधवार, श्रावण २७ गते २०८३   |   2026 August 12

images

images

भीसी घलेको नाममा संग्रहालय

भीसी घलेको नाममा संग्रहालय

सतीश चापागाईं

२७, श्रावण २०७५
images
  गोरखा, १४ बैसाख : दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस (भीसी) पाएका गजे घलेको जन्मस्थान बारपाकमा उनकै नामको संग्रहालय स्थापना भएको छ । गुरुङ र घले समुदायको घना बस्ती रहेको बारपाकमा पुर्खाहरुले प्रयोग गरेको र अहिले लोप हुन लागेका परम्परागत सामग्री संकलन गरी संग्रहालयमा राखिएको छ । भीसी गजे घलेको जन्मस्थान वारपाकका धेरैजसो युवाहरु ब्रिटिस र भारतीय सेनामा छन् । सेनामा जागिर खान प्रोत्साहन गर्ने देन उनै भीसी घलेको रहेको स्थानीयहरु बताउँछन् । वर्षौ पूराना सामाग्री संकलन गरेर ‘बारपाक सामुदायिक तथा भीसी संग्रहालय’ मा राखिएको छ । अहिले वारपाक पुग्ने जोकोही संग्रहालय नछिरी फर्कंदैनन् । बारपाकलाई पर्यटकको गन्तव्यस्थल बनाउन संग्रहालयले प्रत्यक्ष रुपमा सहयोग पुर्‍याएको स्थानीय बताउँछन् ।   पुर्खाहरुले प्रयोग गरे पनि अहिलेका युवा पुस्तासम्मले नेखेका सामाग्रीहरु संग्रहालयमा राखिएको स्थानीय खेमराज घलेले जानकारी दिए । ‘गजे घलेको घरमा पूरानो बन्दुक भेट्टायौं अनि संग्रहालयमा राखेका छौं,’ घलेले भने, ‘बन्दुक गजेले प्रयोग गर्थे वा गर्थेनन् भन्ने एकीन गर्न सकेनौं ।’ सैनिक पदमा कार्यरत रहँदा घलेले प्रयोग गरेको सुट र पृष्ठभूमिहरु प्रदर्शनमा राखिएको छ ।   २०७२ वैशाख १२ को भूकम्पले घाइते भएकाहरुलाई उद्धार गर्न यहाँ तत्कालीन समयमा भारतीय सेनाले निकै सहयोग गरेका थिए । ‘यहाँका धेरै युवाहरु सेनामा कार्यरत भएकाले पनि त्यो बेला इन्डियन आर्मीहरुले हामीलाई निकै सहयोग गरे,’ स्थानीय जीत गुरुङ भन्छन् । परम्परागत सामग्रीहरु भावी पुस्तासम्मलाई देखाउन तथा घलेको सम्मानमा संग्रहालय स्थापना भएको हो । संग्रहालय अवलोकन गर्न पुगेका पर्यटकले बारपाकको स्थानीय पहिचान झल्काउने डकुमेन्ट्री पनि हेर्न सक्ने छन् । आठ मिनेटको डकुमेन्ट्री तयार पारेर प्रदर्शनमा राखिएको छ । संग्रहालय अवलोकन गर्ने पर्यटकले निश्चित शुल्क तिर्नुपर्छ ।   विदेशी पर्यटकलाई ५०, विद्यार्थीलाई १५ र अन्य ब्यक्तिले २५ रुपैयाँ संग्रहालय प्रवेश शुल्क बापत तिर्नुपर्ने हुन्छ । संग्रहालयको वैशाख ८ गते उद्घाटन भएको हो । सूचना केन्द्र भवन र संग्रहालय स्थापनाका लागि ४३ लाख ३० हजार खर्च भएको सेभेन सिस्टरकी सहसचिव निशा घलेले बताइन् । ०७१ सालमा अस्थायी रुपमा संग्रहालय स्थापना भए पनि २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको थियो । भूकम्पले संग्रहालयको सामग्रीमा क्षति पुर्‍याएपछि बचेका सामाग्रीहरुको संकलन गरेर प्रदर्शनमा राखिएको छ । अब गजे घलेको डमी बनाउने योजना स्थानीयहरुले बनाएका छन् । नयाँ पेज डटकममा यो समाचार छ ।

images
प्रकाशित मिति :श्रावण २७, २०७५ आइतवार - १०:४०:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend