Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट समापन गरिँदै

रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट समापन गरिँदै

Nepal Desk

२०, भाद्र २०७७
images
रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट समापन गरिँदै

काठमाडौं । उपत्यकाकै सबै भन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट समापन गरिँदै छ । नरेन्द्रदेवको पालादेखि मनाउन थालिएको यो जात्रा सम्भवतः पहिलो पटक संकटबाट गुज्रिएको हो । कोरोना संक्रमणको जोखिमले लामो समय रोकिन पुगेको जात्रा मलमासका कारण छोटो विधिबाट समापन गर्नु परेको गुठियारले बताएका छन् । एकातिर कोरोनाको निषेधाज्ञा अर्कोतिर बिहीबार स्थानीय र प्रहरीबीच हिंसात्मक झडप भएपछि जात्रा छिटै समापन गर्ने दबाब परेको हो ।

तर, इतिहासमै पहिलो पल्ट रीत टुटेको छ । सँधै जात्रा समापनका दिन भोटो देखाउने गरिएको थियो । भोटोजात्राको अवलोकन गर्न राष्ट्रप्रमुख वा राष्ट्राध्यक्ष जाने परम्परा छ । याे पल्ट भाेटाे नदेखाउने भनिएसँगै पहिलो पटक परम्परा ताेडिएकाे छ । संस्कृतिविद् चुण्डा बज्राचार्य भन्नुहुन्छ, ‘यसअघि ससरी जात्रा तहसनहस भएको मलाई थाहा छैन । अहिलेसम्म भोटो देखाउने जात्रा रोकिएको इतिहास छैन । यस्तो पहिलो पटक भयो । कोरोनाका कारण रातो मच्छिन्द्रनाथको जात्रा भद्रगोल भयो । तीतो इतिहास बन्यो भनौँ न !’

कतिपयले अहिलेको भोटो नक्कली भन्दै इतिहासलाई बंग्याउने गरेका छन् । बज्रचार्य भन्नुहुन्छ, ‘भोटो नयाँ पूरानो भन्ने कुरा महत्वपूर्ण होइन । जात्रा र परम्परा मूल कुरा हो । जात्रा र परम्परा अहिलेसम्म यसरी धरमराएको थिएन । विधिपूर्वक अर्थात् रीतपूर्वक हुँदै आएको छ । निरन्तरता नै महत्वपूर्ण कुरा हो ।’ नरेन्द्रदेवको पालादेखि चल्दै आएको जात्रा जीवित रहनु सानोतिनो कुरा होइन ।

उतिबेलाका तीन राज्य मिलेर बनाउने जात्रा हो, यो । बज्राचार्यका अनुसार भक्तपुरे राजा, कान्तिपुर (अहिलेको काठमाडौं)का पुरोहित र पाटन (ललितपुर)को ज्यापु तीन जनाले कामारुकामाक्षेबाट रातो मच्छिन्द्रनाथलाई ल्याएका हुन् । जो भारतीय भूमिमा पर्छ । त्यही कारण यो जात्रामा तीन वटै क्षेत्रका मान्छेहरु सहभागि हुनुपर्छ ।

केही विधि

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा गुरुज्यूको पल्टनले बिगुल बजाउने र हर्षबढाइँ गर्ने चलन छ । मत्स्येन्द्रनाथका बाबु मानिने मीननाथलाई पनि चक्रबहीबाट सानो रथमा राखेर सँगै तानेर गाःबहाल लगिन्छ । मीननाथको रथलाई अघिअघि लगाएर मच्छिन्द्रनाथको रथलाई पछि तान्ने चलन छ । गाःबहाल जात्रापछि मीननाथको रथ अगाडि र मच्छिन्द्रनाथको रथ पछिपछि तान्दै महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोल लगिन्छ । लगनखेलबाट इटिटोलहुदै कुमारीपाटीबाट जावालाखेल पुगेपछि भोटो देखाएर मच्छिन्द्रनाथलाई खटमा राखी बुङगमतीमा लगिएपछि रथजात्रा समापन भएको मानिन्छ । तर, यो पल्ट त्यसरी जात्रा सम्पन्न गर्ने वातावरण मिलेन ।

भोटोको कथा

रातो मच्छिन्द्रनाथ जात्रा र भोटोको सम्बन्ध छैन भन्छन्, केही संस्कृतिविद्हरु । तर, भोटो देखाएपछि मात्रै रातो मच्छिन्द्रनाथको जात्रा समापन भएको मानिन्छ । त्यही कारण उपत्यकाका जात्रामा विविधता छ र त्यो भित्र पनि अनेकता छ, भन्न सकिन्छ । भोटोको कथा के हो ? किन देखाइन्छ भोटो ? कसलाई देखाइन्छ ? कथा यस्तो छः–परापूर्वकालमा नागरानी विरामी हुँदा वद्यै खोज्दै कर्कोटक नागराज किसानको खेतमा पुगेको किंवदन्ती छ ।

किसानलाई वैद्य ठानेर घर लगेका कर्कोटक नागले नागरानीलाई जसरी पनि निको पार्न भन्छ, नभए राम्रो हुनेछैन भन्ने चेतावनी आउँछ । किसानले आफ्नो शरीरको मैलो निकाल्दै औषधिको रुपमा लगाइदिँदा नागरानीको आँखा ठीक भएको कथा छ । नागरानी ठीक भएपछि कर्कोटक नागले किसानलाई वर माग्न लगाउँदा नागराजकै भोटो मागेको कथन छ । नागराज खुसी भएर किसानलाई भोटो दिएर पठाउँछ ।

खेतमा काम गर्दै गर्दा गर्मी भएर किसानले भोटो खोलर आलीमा राखेकै बेला ‘भूत’ले भोटो चोर्छ । चोरी भएको भोटो लगाएको त्यो ‘भूत’ रातो मच्छिन्द्रनाथको जात्रामा भेटिन्छ । जहाँ नागराज, किसान र भोटो चोरको भेट हुन्छ । भोटो देख्नासाथ किसानले आफ्नो दाबी गर्छ, नागराजले पनि आफ्नो भन्छ भने चोरले पनि आफ्नै दाबी गर्छ । विवाद नफुकेपछि जात्रामा आएका राजाले ‘जसले प्रमाण ल्याउँछ भोटो उसको’ भनिदिन्छन् ।

त्यति भनेपछि आ–आफ्नो दावी गर्नेहरु प्रमाण खोज्नतिर लाग्छन् । लामो समय भोटो कसको हो भन्ने प्रमाण भेटिन्न । तर, त्यति बेला राजाले हरेक वर्ष जात्रामा रथको चार कुनाबाट भोटो देखाउने परम्परा बसाले । एक कुनाबाट नागराजलाई, अर्को कुनाबाट किसानलाई, अर्कोबाट भोटो चोरलाई र एउटा कुनाबाट पब्लिकलाई देखाउने गरिन्छ । तर, अहिलेसम्म भोटो कसको हो भन्ने पत्ता लागेन । र, हरेक वर्ष भोटो मासिएको छैन, भनेर प्रमाणको रुपमा देखाउने गरिएको संस्कृतिविद बताउँछन् ।

images
प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - १२:१७:२७ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend