Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

औषधि किन्न अस्पताल छिरेका केसीलाई गेटवाटै पठाईयाे फिर्ता

औषधि किन्न अस्पताल छिरेका केसीलाई गेटवाटै पठाईयाे फिर्ता

Nepal Desk

२०, भाद्र २०७७
images
औषधि किन्न अस्पताल छिरेका केसीलाई  गेटवाटै पठाईयाे  फिर्ता

जुम्ला । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी बिहीबारदेखि खलंगामा बस्ने भनिएको सत्याग्रह स्थगित गरेर विशेषज्ञ सेवा दिन गाउँ जाने तयारीमा थिए । उनको झोलामा औषधि सकिएकाले किन्नुपर्ने भयो । एकाबिहानै उनी औषधि किन्न अस्पतालको फार्मेसीतिर लागे । उनको योजना थियो– अस्पतालको फार्मेसीबाट औषधि किन्ने र सिँजा क्षेत्रका गाउँमा स्वास्थ्य सेवा दिन जाने । तर औषधि किन्न अस्पतालको गेटभित्र जान नदिइएपछि उनी रित्तो हात फर्किए । औषधिबिनाको रित्तो झोला लिएर गाउँ जान उनको मनले मानेन । उनी सदरमुकाम खलंगामै रोकिए ।

केसी केहीबेर गेटमै बसे । सबैजसो ओहोरदोहोर गरिरहेका थिए । उनीमात्र अस्पतालको गेटभित्र जान पाएका थिएनन् । गाउँ लैजाने औषधि बाहिरका मेडिकलमा नपाइने भएकाले अस्पतालको फार्मेसीमा किन्न गएको केसी बताउँछन् । उनले भने, ‘जब गेटमा पुगेको थिएँ तब अस्पतालको गार्डले रोक्नुस् भने । म रोकिएँ । अरूलाई जान–आउन दिएको देखेर मैले गार्डसँग जिज्ञासा राखें ।

मलाई किन जान नदिइएको ?’ ती गार्डको जवाफ उद्धृत गर्दै केसीले भने, ‘अस्पताल निर्देशक डा मंगल रावलको आदेश तपाईंलाई भित्र प्रवेश गर्न नदिनु भन्ने छ । त्यसैले तपाईंले गेटभित्र प्रवेश पाउनुहुन्न ।’ गार्डको जवाफ सुनेपछि केसी आफू बसेको होटलतिर फर्किए ।

अस्पतालभित्रको फार्मेसीमा लगभग सबै प्रकारका औषधि पाइन्छन् । यसअघि उनले डोल्पा, मुगु र पातारासी जाँदा अस्पतालभित्रको पसलबाट औषधि किनेर लगेका थिए । ‘पहिला किनेका औषधि सकिएछन् । रित्तो हात गाउँ किन जानु भनेर अस्पतालको फार्मेसीमा किन्न जान खोजेको थिएँ । त्यहाँ जान अंकुश लगाइयो,’ उनले भने, ‘मलाई जहाँजहाँबाट अवरोध भइरहेको छ । त्यो अवरोधले अझै ऊर्जा थपेको छ ।’ दुई÷चारजना स्थानीयले आफूलाई किन प्रवेश नदिइएको भने पनि गार्डले त्यो आवाज नसुनेको केसीले बताए ।

केसीले भने, ‘जब सत्याग्रह घोषणा गर्छु, स्थानीय प्रशासनले लकडाउन गर्छ, प्रहरी म बसेको होटलबाहिर गेटमा आएर बस्छन् । सत्याग्रह स्थगित गर्दा गेटका प्रहरी हराउँछन् । लकडाउन पनि लुुज हुन्छ । यो चिकित्सा शिक्षा सुधारको अभियान तुहाउने षड्यन्त्र हो । ‘हेरौं कति दिनसम्म षड्यन्त्र गरिरहन्छन् । जस्तोसुकै षड्यन्त्र भए पनि यो अभियान रोकिन्नँ । अभियान अझै धारिलो बनेर जानेछ ।’ फाईल तस्विर 

images
प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - १७:३०:२१ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend