Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

गोर्खा लिजेन्ड्सले जित्यो टिएनसीए टी-ट्वान्टी लिग २०२२ को उपाधि

गोर्खा लिजेन्ड्सले जित्यो टिएनसीए टी-ट्वान्टी लिग २०२२ को उपाधि

नेप्लिज डायस्पोरा

२५, बैशाख २०७९
images
गोर्खा लिजेन्ड्सले जित्यो टिएनसीए टी-ट्वान्टी लिग २०२२ को उपाधि

होबार्ट । अष्ट्रेलियाको तास्मानियामा टिएनसीए टी-ट्वान्टी लिग २०२२ सम्पन्न भएको छ। तास्मानिया नेपलिज क्रिकेट एशोसियसनले आयोजना गरेको क्रिकेट लिग गत आइतबार आयोजित पुरस्कार वितरण कार्यक्रमसंगै सम्पन्न भएको हो। लिगको उपाधि गोर्खा लेजेन्ड्सले जितेको छ भने एक्स्पर्ट क्रिकेट क्लब उपविजेता बन्न सफल भएको छ। लिगलाई ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजन गरेको हो।

टिएनसीए टी-ट्वान्टी लिग २०२२ का खेलहरु दुई सप्ताहान्तसम्म चलेका थिए। गत २३ अप्रिलदेखि सुरु लिगका खेलहरु लन्चेष्टन र होबार्टमा सम्पन्न भएका थिए। लिगमा ६ टिम सहभागी थिए। ती मध्ये समूह एमा लन्चेष्टन नेपाली क्रिकेट क्लब, नयाँ क्रिकेट क्लब, काठमाडौं वारियर्स थिए भने समूह बीमा गोर्खाली लेजेन्ड्स, एक्सपर्ट क्रिकेट क्लब, यति क्रिकेट क्लब रहेका थिए ।

लिगका खेलहरुबाट गोर्खा लेजेन्ड्स, एक्स्पर्ट क्रिकेट क्लब, लन्चेष्टन नेप्लीज क्रिकेट क्लब र काठमाडौं वारियार्स क्रिकेट क्लब सेमी फाइनलमा प्रवेश गरेका थिए। अप्रिल ३०, शनिबार सम्पन्न सेमिफाइनल खेलमा एक्स्पर्ट क्रिकेट क्लबले काठमाडौं वारियर्सलाई र गोर्खा लेजेन्ड्सले लन्चेष्टन नेप्लीज क्रिकेट क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरे। फाइनल खेल मे १ आइतबारका दिन आयोजना गरिएको थियो।

उक्त फाइनल खेलमा एक्स्पर्टले टस जितेर ब्याटिङ्ग रोज्यो। भगेश गोयल र कप्तान मिलन महर्जनको उत्कृष्ट ब्याटिंगको सहयोगमा एक्स्पर्ट १३४ रन बनाउन सफल भयो। यता बलिङ्ग गरिरहेको गोर्खा लेजेन्ड्सले एक्स्पर्टलाई सिमित रनमा समेट्नका लागि उत्कृष्ट प्रदर्शन गरेको थियो। जसमा, रमेश सिंह क्षेत्रीले ४ विकेट, सुब्रत भट्टाराईले २ विकेट र गोविन्द कार्कीले १ विकेट लिएका थिए।

279285681_5428332403844015_2346155863172318919_n1651568685.jpg

जवाफी ब्याटिंगमा उत्रिएको गोर्खाले निकै धैर्यतापूर्वक राम्रो प्रदर्शन गरेको थियो। नतिजास्वरुप, उसले ९ विकेटमा सजिलै एक्स्पर्टलाई पछाडी पार्यो। गोर्खाको यो शानदार जितका लागि गोविन्द कार्कीले अर्धशतक बनाएका थिए भने सागर क्षेत्री ४९ रनमा नटआउट रहेका थिए। अर्धशतक बनाएका र त्यस अघिका १ विकेट समेत लिएका गोविन्द कार्की म्यान अफ द म्याच घोषित भए।

टुर्नामेन्ट अवधिभर बलिङ्ग र ब्याटिंग दुवै तर्फ उत्कृष्ट प्रदर्शन गरेका एक्स्पर्टका भगेश गोयलले 'म्यान अफ द टुर्नामेन्ट' र 'बेस्ट बलर अफ द टुर्नामेन्ट'को अवार्ड हात पारे। त्यसैगरी, गोर्खा लेजेन्ड्सका किरण पाण्डे 'बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट' घोषित भए।

विजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई फाइनल खेल पश्चात पुरस्कार वितरण गरिएको थियो। पुरस्कार वितरणका लागि आयोजित औपचारिक कार्यक्रममा माननीय एलिस आर्चर, माननीय जोश विल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, फेन्काका कोषाध्यक्ष राजन कोइराला, ग्रेस इन्टरनेशनलका सीईओ रामचन्द्र पौडेल, ग्रेस तास्मानियाका डाइरेक्टर बिकेन्द्र सापकोटा अतिथिको रुपमा सहभागी हुनुभएको थियो।

अतिथिहरुले तास्मानियामा नेपालीहरुको संख्या बढ्दै गइरहेको अवस्थामा तास्मानिया नेपलिज क्रिकेट एशोसियसनको यो प्रयास सह्रानीय रहेको बताउनुभयो। उहाँहरुले यस्ता कार्यक्रमले निश्चित ठाउँको मात्र नभई सिंगो अष्ट्रेलियाभरको नेपाली समुदायलाई सहयोग पुग्ने उल्लेख गर्दै संस्थालाई आगामी कार्यक्रमका लागि शुभकामना सहित आफूहरुको सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो।

आयोजक संस्था नेपलिज क्रिकेट एशोसियसनकी अध्यक्ष पुनम पन्तले संस्था स्थापनाको छोटो समयमै ६ टिमको सहभागिता सहित कार्यक्रम सम्पन्न गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो। सहभागीहरुमाझ उहाँले एसोसिएसनमा मुनलाइट क्रिकेट क्लब र क्यापिटल क्लब गरी दुई नयाँ क्लब जोडिएको जानकारी समेत गराउनुभएको थियो। अध्यक्ष पन्तले आगामी दिनमा यस्तै सहभागिता र साथको अपेक्षा राख्दै टुर्नामेन्ट सफल बनाउन सहयोग गर्ने प्रायोजक संस्थाहरु, सहभागी क्लब, खेलाडी, सहयोगी संस्था तथा व्यक्तित्वहरु, स्वयंसेवक लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

तास्मानिया नेपलिज क्रिकेट एशोसियसन (टिएनसीए) २०१९ मा स्थापना भएको थियो। प्रकाश उप्रेती संस्थापक अध्यक्ष रहनुभएको संस्थाले सुरुवातमै कोभिड महामारीको सामना गर्नुपरेका कारण खेल सम्बन्धि कार्यक्रमहरु गर्न सकेन। यद्दपी संस्थाले कोभिड महामारीको सामना गर्नका लागि विद्यार्थी लगायत नेपाली समुदायका निम्ति ठूलो भूमिका खेलेको तत्कालिन पब्लिक अफिसर तथा वर्तमान अध्यक्ष पुनम पन्त बताउनुहुन्छ। उहाँका अनुसार, त्यतिबेला नेपाली युवाहरुलाई खाद्यान्न वितरण गर्नका लागि संस्थाले राज्य सरकारबाट १० हजार डलर सहयोग समेत प्राप्त गरेको थियो।

images
प्रकाशित मिति :बैशाख २५, २०७९ आइतवार - १७:११:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend