Logo

शनिवार, कार्तिक २२ गते २०८३   |   2026 November 07

images

images

साउदी अरेबियाको फुटबल मोह, किन बन्दैछ फुटबलरका लागि नयाँ गन्तब्य

साउदी अरेबियाको फुटबल मोह, किन बन्दैछ फुटबलरका लागि नयाँ गन्तब्य

नेप्लिज डायस्पोरा

११, भाद्र २०८०
images
साउदी अरेबियाको फुटबल मोह, किन बन्दैछ फुटबलरका लागि नयाँ गन्तब्य

रोशनबहादुर सिंह

अमेरिका

एशियाको मध्यपश्चिमी देश साउदी अरेबिया जो नेपालजस्ता गरिब मुलुकका लागि रोजगारीको प्रमुख मध्येको एक गन्तब्य हो । साउदीमा काम गर्नका लागि नेपालबाट मात्र लाखौं मानिस पुगेका छन । देश ठूलो भएपनि धेरै जसो ठाउँ मरुभूमी भएकाले यो देशमा गर्मी निकै हुने गरेको छ । तरपनि राम्रो आम्दानीको आशाका साथ नेपाल जस्तै श्रीलंका, बंगलादेश, पाकिस्तान, भारत, अफगानिस्तानबाट साउदीमा रोजगारीका लागि जानेको संख्या निकै रहेको छ । तर पछिल्लो पटक साउदी अरेबियाले देशमा पूर्वाधार निर्माणमा बिशेष जोड दिएको छ । छिमेकी देश यूएईको दुबई शहर पुर्वाधारका कारण नै विश्वभरबाट पर्यटक आकर्षण गर्न सफल भएको छ । यहि कुरालाई साउदीले पनि बुझेको हुनुपर्छ । साउदीका राजकुमार मोहम्मद बीन सलमानले सन् २०३० सम्ममा देशलाई तेलमा निर्भर नबनाउने भन्दै आक्रामक आर्थिक योजनाहरु अगाडी ल्याएका छन । जसमा पुर्वाधारको विकाशका साथै खेलकुदमा ठूलो लगानी गर्ने छ । साउदीले रियादमा द लाईन सिटी बनाउनका लागि एक ट्रिलियन डलर बजेट खर्च गर्ने जनाएको छ । जसमा विश्वमा नै पहिलो पटक बन्न लागेका पुर्वाधार रहेनछ ।

313C69E8-2DB0-49A0-BFAA-0722157A2EBB.jpeg

कतारले सन् २०२२ मा फिफा विश्वकपको आयोजना गरेपछि त झन छिमेकी देश साउदी खेलकुदमा लगानी गर्नका लागि पैशाको खोलो बगाउने तयारीमा छ । जसमा उसले मुख्य गरेर फुटबलमा बढि जोड दिएको छ । प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेडमा पछिल्लो पटक साउदीको लगानी रहेको छ । तीन सय मिलियन पाउण्ड भन्दा बढि लगानीमा एक बर्ष अगाडी सो क्लबलाई खरिद गरिएको थियो । जसका कारण अघिल्लो सिजनमा प्रिमियर लिगमा सो क्लबले शिर्ष पाँचमा स्थान बनाउन सफल भएको थियो । स्मरण रहोस, प्रिमियर लिग खेलिरहेको म्यानचेस्टर सिटीमा सन् २०१० तिर कतारी लगानी भित्रिएको थियो । जसको नतिजा अहिले सिटीले देखाइरहेको छ । प्रिमियर लिगमा पछिल्लो पटक दबदबा गरिरहेको सिटीबाट खेल्नका लागि विश्वका उत्कृष्ठ खेलाडी नै लालायित हुने गरेका छन । यस्तै पेरिस सेन्ट जर्मेनमा पनि कतारी लगानी नै छ । यतिमात्र होइन, सञ्चारको क्षेत्रमा पनि कतारको राम्रो पकड रहेको छ ।

सायद कतारले खेलकुदमा गरेको लगानी देखेर होला साउदीले पनि पछिल्लो पटक खेलकुदमा पैशा बगाइरहेको छ । जसका उसर विश्व फुटबलमा उसले देखाइरहेको छ । एक बर्ष अगाडीसम्म साउदी अरेबियाको लिग फुटबल खासै चर्चामा थिएन । तर एक बर्ष यता देखि साउदी लिगलाई नियमित हेर्नेहरु बढेका छन ।

विश्वमा जतिपनि खेलाडी छन, उनीहरु कुनै न कुनै रुपमा पैशालाई बढि जोड नै दिने गरेका हुन्छ । ब्यवसायिक फुटबल खेल्दा जुन ठाउँमा बढि रकम पाइन्छ, उनीहरु त्यहि जाने सोच बनाउछन । युरोपियन लिग खेलिरहेका खेलाडीका लागि यतिबेला अर्को गन्तब्य साउदी बन्न थालेको छ । कारण साउदी लिगका क्लबहरुले खेलाडी भित्र्याउनका लागि जति रकम पनि तिर्न तयार छन ।

पछिल्लो एक बर्षमा मात्र विश्व चर्चित खेलाडीहरुले साउदी लिगलाई आफ्नो गन्तब्य बनाएका छन । त्यसमा पछिल्लो उदाहरण ब्राजिलियन स्टार नेयमार हुन । पेरिस सेन्ट जर्मेनमा महंगो रकममा बार्सिलोनाबाट अनुबन्ध भएका नेयमार दुई साता अगाडी साउदी क्लब अल हिलालमा अनुबन्ध भएका छन ।

 

साउदीका क्लबमा महंगो रकममा खेलाडी आउने क्रम अघिल्लो बर्षबाट सुरु भएको भन्दा कम नहोला । जब करियरको उत्तरार्धमा पुगेका क्रिस्टियानो रोनाल्डोलाई साउदी क्लब अल नासेरले गत डिसेम्बरमा म्यानचेस्टर युनाइटेडबाट भित्र्यायो । त्यसपछि यो क्रम बढेको छ । रोनाल्डो साउदी आएपछि लगत्तै अर्का स्टार खेलाडी करिम बेन्जिमा पनि अल इत्तिहादमा अनुबन्ध भएका थिए ।

यस्तै अघिल्लो महिनामा लिभरपुलका कप्तान रहेका तथा १२ बर्ष लिभरपुलबाट खेलेका जोर्डन हेन्डरसनपनि साउदी क्लव अल इत्तिफकमा अनुबन्ध भए । उनले लिभरपुलमा हुँदा एकै सिजनमा युरोपका तीन ठूला उपाधि जितेका थिए । उनलाई सो क्लबले साताको नौं लाख अमेरिकी डलर तलबमा ल्याएको हो । उनले विश्वको चौथो धनी क्लब लिभरपुल छोड्नका लागि कुनै हिचकिचाहट गरेनन् । उनलाई आएको प्रस्तावलाई सहजै स्विकार्दै साउदी आउने निधो गरेका थिए ।

नेयमारलाई साउदी क्लब अल हिलालले पीएसजीबाट बर्षको एक सय मिलियन अमेरिकी डलर तलबमा अनुबन्ध गरेको छ । यतिमात्र होइन ९८ मिलियन डलर अल हिलालले पीएसजीलाई अुनबन्ध रकम तिरेको थियो । जसका लागि ३१ बर्षे नेयमारलाई दुई बर्षको सम्झौता गरेको छ । नेयमार बार्सिलोनाबाट पीएसजीमा जाँदापनि दुई सय ४२ मिलियन डलरमा अनुबन्ध भएका थिए । उनले ६ बर्ष पीएसजीबाट खेल्दा एक सय ७३ खेलमा एक सय १८ गोल गरेका थिए । ६ सिजनमा उनलाई धेरैजसो समय चोटले सताएको थियो । यसअघि ३८ बर्षे रोनाल्डोलाई करिब दुुई सय मिलियन डलर तलबमा ल्याएको थियो ।

यतिमात्र नभई साउदी क्लब अल हिलालले पीएसजीका केलियन एम्बाप्पेलाई पनि तीन सय ३२ मिलियन डलरको प्रस्ताव गरेको थियो । तर सो प्रस्तावलाई उनले अस्विकार गरेका थिए । यता लिभरपुलका मोहम्मद सालहपनि साउदी आउने चर्चा चलेको थियो । तर लिभरपुलले सलाहको प्रस्तावलाई अस्विकार गरेको थियो । त्यसपछि लियोनल मेस्सीले पीएसजी छोड्ने समाचार बाहिर आउँदा अल हिलालले नै एक दशमलव ६ बिलियन डलरको प्रस्ताव गरेको थियो । तर उनी सो प्रस्ताव छोडेर अमेरिकी क्लब इन्टर मायामीमा अनुबन्ध भएका थिए । अझैपनि मेस्सी सायदी अरेबियाको पर्यटक दुत रहेका छन । जसका लागि उनले तीन बर्षमा २५ मिलियन डलर पाउनेछन । स्टार फुटबलर भित्र्याउने तीन क्लब अल हिलाल, अल इत्तिहाद, अल नासेर र इत्तिफाकलाई साउदीका राजकुमारको लगानी छ । रियादमा रहेका यी क्लबको खर्चका लागि साउदी पब्लिक लगानी फन्डले सहयोग गरेको छ । स्मरण होस, यहि फन्डबाट साउदीले न्यूक्यासलमा लगानी गरेको थियो ।

साउदीमा पब्लिक लगानी फन्डको लगानी कति ? 

यो फन्डबाट साउदीले सन् २०२१ यता ६ दशमलव तीन बिलियन डलर लगानी गरिसकेको छ । जसमा न्यूक्यासल क्लब किन्दा होस या लाइभ गल्फ च्यानल तयार पार्दा सबै खर्च यहि फन्डबाट गएको छ । तर पछिल्लो पटक साउदीको प्रो लिगमा जतिपनि ठूलो लगानी भएको छ । त्यसमा फिफको आँखा परेको छ, कारण भ्रष्टाचारको ।

विश्व फुटबलमा यतिबेला साउदी अरेबियन क्लबले युरोपियन फुटबललाई नै चुनौती दिइरहेको छ । तर पैशा खन्याएर मात्र फुटबलको विकाश हुन्छ भन्ने मान्यता राख्न नहुने भनेर फुटबल पण्डितहरुको धारणा छ । किनकी सन् २००४ तिर चीनले पनि फुटबलमा निकै ठूलो लगानी गरेको थियो । विश्वका स्टार खेलाडीलाई भित्र्याएर आफ्नो लिगलाई अन्तराष्ट्रिय बजारमा पुर्याएको थियो । तर अहिले चीनको फुटबल लिगमा कसैको चासो छैन । कतै साउदी पनि भविष्यमा यहि बाटोमा त हुने हैन भन्ने चासो बढेको छ ।

साउदीका राजकुमार सलमानको भिजन २०३० को योजनामा खेलकुद मुख्य एजेन्डा हो । जसका लागि सात ट्रिलियन डलर खर्च गर्ने योजना बनाएको छ । यतिमात्र होइन, कतारले विश्वकपको आयोजना गरेपनि सन् २०३० वा २०३४ को फिफा विश्वकप आयोजनाका लागि साउदी आफुलाई तयार पार्ने क्रममा छ । फुटबल बाहेक उसले बक्सिङ, फर्मुला वन, गल्फमा पनि ठूलो लगानी गर्दैछ ।

साउदीले जुन तरिकाले खेलकुदमा लगानी गरिरहेको छ, त्यसले फुटबललाई मुख्य आधार बनाउन खोजेको प्रष्ठ देखाएको छ । यसमा राजकुमार सलमानको आक्रामक रणनिती मुख्य आधार हो । गल्फका अरु देशले खेलकुदमा भन्दा पर्यटन, ब्यापारमा बढि जोड दिइरहेका बेला साउदीले खेलकुदलाई आफ्नो बलियो आधार बनाउन खोजेको विज्ञहरु बताउछन । तर साउदीको आक्रामक रणनिती सफल हुने हो वा होइन, त्यो भिजन २०३० ले देखाउने अगाडीको बाटोबाट थाहा हुनेछ ।

96B600F7-CA7B-4133-982E-4F13CE53D729.jpeg

images
प्रकाशित मिति :भाद्र ११, २०८० सोमवार - ०१:४५:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend