रोशनबहादुर सिंह
अमेरिका
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने एसिया कप क्रिकेटका लागि पाकिस्तान उडेका छन् । सन्दीप गबिहान कतार एयरवेजमार्फत दोहा हुँदै पाकिस्तानको मुल्तान प्रस्थान गरेका हुन् ।
अदालतमा मुद्दा विचाराधिन रहेका कारण टिमसँगै जान नपाएका सन्दीप पेशी सरेपछि आजमात्रै पाकिस्तान प्रस्थान गरेका हुन् ।
पाकिस्तान उड्नुअघि सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका थिए ।
विदाई कार्यक्रममा नेपालले एसिया कप क्रिकेट खेल्नु आफैमा ऐतिहासिक रहेको बताउँदै उक्त खेलका लागि सन्दीपको भूमिका पनि अर्थपूर्ण रहेको घिसिङले बताए । उनले सन्दीपबाट नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा राखेको अपेक्षा पूरा हुने पनि बताए ।
यसैगरी, सन्दीपले एसियाकपमा राम्रो प्रदर्शन गर्ने बताए । आफूले पनि राम्रो अभ्यास गरेको बताउँदै आफू खेल्नलाई फिट रहेको पनि बताए ।
सन्दीपसँगै नेपाल क्रिकेट संघ क्यानले सुवास जयसवाललाई पनि पठाएको छ । उनी नेपाली टिमको सहायक म्यानेजरको रुपमा पाकिस्तानमा जोडिने छन् । सन्दीप र सुवास कतार एयरवेजमार्फत दोहा हुँदै पाकिस्तानको मुल्तान उत्रने छन्।
एसिया कपमा नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्ने छ ।
एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसियाकपमा स्थान बनाएको हो ।