Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

मेयर बालेनले भने: हामी क्रिकेट रंगशाला बनाउछौं

मेयर बालेनले भने: हामी क्रिकेट रंगशाला बनाउछौं

रोशनबहादुर सिंह

१९, भाद्र २०८०
images
मेयर बालेनले भने: हामी क्रिकेट रंगशाला बनाउछौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले क्रिकेट रंगशाला महानगरपालिकाले बनाउन पहल गर्ने बताएका छन् । तर त्यसकालागि सरकारले जग्गा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

एसिया कप क्रिकेट अन्तर्गत श्रीलंकामा नेपाल र भारतको खेल हेरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । काठमाडौं महानगरपालिकाले काठमाडौं आसपासमा १ सय रोपनी जग्गा उपलव्ध गराए क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ,‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ।  र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ । त्योबाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुनेगरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौँ ।’

उनले पूर्वाधार निर्माण भए मात्र खेलको विकास हुनसक्ने उल्लेख गर्दै एकै खेलबाट करोडौं रकम आर्जन गर्न सकिने पनि बताएका छन् । 

फेसबुक स्टाटस यस्तो छ ।

फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमन (Immigration) को कर्मचारीको प्रश्न थियो, "यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?" श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए । त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो । नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुग्यो होला ।

टिभीमा देखिने बिराट, रोहीतहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडिहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वभाविक पनि थिएन । तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडिहरुको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो । ठीक त्यहि बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ ।

गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद ।

यसैले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडि र तल्लोतह (Grassroot) मा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट (Bowling Net) राख्ने प्रबन्ध पहिले नै गरि सकेको छौ ।

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - १६:१८:२६ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend