पछिल्लो केहि बर्षदेखि नेपाली फुटबल खेलाडी अष्ट्रेलिया जाने क्रम एकाएक बढेको छ । अहिलेसम्म ५० भन्दा बढि फुटबल खेलाडी अष्ट्रेलिया पुगिसकेका छन । त्यसमा पछिल्लो नाम जोडिएको छ बिमल घर्तिमगरको । उनी शुक्रबार अष्ट्रेलिया उडेका हुन ।
बिमल नेपाली फुटबलमा एक स्टार फुटबलर हुन । एन्फा एकेडेमिका उत्पादक बिमलमाथि अखिल नेपाल फुटबल संघ एन्फाले ठूलो आशामात्र होइन, राम्रो लगानीपनि गरेको थियो । तर एन्फाभित्रका पदाधिकारी नै कसरी पैशा अंगाल्ने भन्ने ध्यान दिँदा खेलाडी भने एकपछि अर्को गरेर विदेशिन बाध्य भएका छन । आफ्नो भविष्य सुनिश्चित गर्नका लागि नै उनीहरु विदेशिएका हुन । यो सूचीमा राष्ट्रिय टिमका पूर्व कप्तान, सुजल श्रेष्ठ, खेलाडी विशाल राई, रंजित धिमाल लगायतका राम्रो पहिचान भएका खेलाडी छन ।
तर बिमल अष्ट्रेलिया जानु सबैका लागि आश्चार्यजनक लागेको छ । २५ बर्षे बिमलको फुटबल करियर एन्फा एकेडेमीबाट उमेर समुह हुँदै सिनियर टिमसम्म पुगेको थियो । अग्लो कद र तेज दौडिन सक्ने बिमलले सिनियर टिममा १४ बर्षको उमेरमा नै स्थान बनाएका थिए । यू १९ टिममा राम्रो प्रदर्शन गरेका कारण बिमलले सिनियर टिममा छोटो समयमा नै सिनियर टिममा स्थान बनाएका थिए ।
बिमल विश्वमा कम उमेरमा सिनियर टिममा डेब्यु गर्ने छैटौं खेलाडी हुन । उनी १४ बर्षको हुँदा सिनियर टिममा डेब्यु गरेका थिए भने १५ बर्षको उमेरमा अन्तराष्ट्रिय खेलमा पहिलो गोल गरेका थिए, त्यो पनि पाकिस्तानविरुद्ध। जसका कारण बिमल रातारात स्टार खेलाडी बनेका थिए ।
नवलपरासीको पाँचनगरमा १९९८ मा जन्मिएका बिमलको केहि दिन अगाडीमात्र जन्मदिन गएको थियो । बुबाले पनि फुटबल खेल्ने भएर त्यहिबाट प्रेरित भएको बिमल बुटवलबाट एन्फा एकेडेमीमा छनोट भएका थिए । उमेर सुमह हुँदै सिनियर टिममा पुग्दा बिमलको ब्राण्ड भ्यालु निकै राम्रो थियो । पारिवारिक रुपमा त्यति बलियो नभएपनि उनले फुटबलबाट नै राम्रो आम्दानी गरिरहेका थिए । उनी नेपाली फुटबलमा महंगा फुटबलरमध्ये एक हुन ।
उनले ए डिभिजन लिग हुँदा महिनाको दुई लाख भन्दा बढि पारिश्रमिक लिने गरेका थिए । बिमलको ब्राण्डलाई क्लबहरुले पनि निकै महत्व दिएका थिए । नेपालबाट मात्र होइन, भारतीय क्लबबाट पनि ब्यवसायीक फुटबल खेलेका बिमले नेपालका लागि नौं गोल गरेका छन ।
सन् २०१४ मा बिमल ब्यवसायीक फुटबलका लागि बेल्जियम पनि गएका थिए । त्यसपछि २०१५ मा पनि उनी दोस्रो पटक बेल्जियम खेल्न गएका थिए । पछिल्लो पटक मच्छिन्द्र क्लबबाट ब्यवसायीक फुटबल खेलिरहेका बिमल अचानक अष्ट्रेलिया जानुको पछाडी नेपाली फुटबलको भविष्य छैन भन्ने प्रष्ट पारेको छ ।
यसअघि जतिपनि खेलाडी विदेश गएका थिए, उनीहरु जाँदा खाँसै त्यति ठूलो महत्व राखिएको थिएन, तर बिमल पनि उडेपछि धेरैको मन झस्किएको छ ।
यसअघि नै अष्ट्रेलिया पुगेका उनकै साथीहरुले पनि बिमललाई स्वागत छ भनेर सोसियल मिडियामा पोष्ट पनि गरेका छन ।
फुटबल करियर अनुशासनको कारणले करिव एक बर्ष कारवाहीमा नै परेका बिमल पछिल्लो पटक राम्रो लयमा रहेका थिए । यतिमात्र होइन, उनी मैदानमा चम्किरहेका बेला परिवारमा बहिनीको मृत्यु हुनु उनका लागि जीवनको ठूलो गुमाई थियो । अब परदेशमा नयाँ जीवन अगाडी बढाउने योजना बनाएका बिमलले अघिल्लो महिनामात्र प्रेमिकासँग विवाहपनि गरेका थिए ।
अब नेपालको जर्सीमा बिमलले १० नम्वर लगाएर खेलेको समर्थकले कहिले हेर्न पाउने त्यो ठूलो प्रश्न उब्जिएको छ ।