Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

सफलता निकाल्दा चौतर्फि वाहवाही पाउने, नराम्रो गर्दा बेवास्तामा पर्ने नेपाली क्रिकेट

सफलता निकाल्दा चौतर्फि वाहवाही पाउने, नराम्रो गर्दा बेवास्तामा पर्ने नेपाली क्रिकेट

रोशनबहादुर सिंह

१७, कार्तिक २०८०
images
सफलता निकाल्दा चौतर्फि वाहवाही पाउने, नराम्रो गर्दा बेवास्तामा पर्ने नेपाली क्रिकेट

नेपाली क्रिकेट टिमले १० बर्षपनि टी-२० विश्वकपमा स्थान बनाउँदा यतिबेला सबै नेपालीमा खुसीको सिमा छैन । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेपछि नेपालले बारम्बार प्रयास गर्दापनि असफल भएको थियो । यो पटक घरेलु मैदानमा भएको एशिया छनोटमा शिर्ष दुईमा स्थान बनाउँदै नेपालले फेरी एकपटक विश्वकपमा स्थान बनाउन सफल भयो । तर यो पटक नेपाली टिमका लागि विश्वकपमा स्थान बनाउन घरेलु मैदान नै साक्षी बन्यो, त्यो पनि घरेलु दर्शकमाझ ।

नेपाल २०१६ को टि-२० विश्वकपको लागि २०१५ को ग्लोबल छनोटबाट नै बाहिरिएको थियो । त्यसपछि आइसिसीले टि-२० विश्वकप चार वर्षमा गर्ने जनाएको थियो । २०१९ को एसिया क्षेत्र छनोटबाटै नेपाल बाहिरिएको थियो । त्यसैले नेपालले २०२१ मा युएई र ओमानमा भएको विश्वकप खेल्न पाएको थिएन ।

२०२२ मा अष्ट्रेलियामा भएको टि-२० विश्वकपको लागि नेपाल ग्लोबल छनोट ए बाट बाहिरएको थियो । त्यो समय नेपाल युएईसँग सेमिफाइनलमा युएईसँग ६८ रनले हराउँदै विश्वकप खेल्न पाएको थिएन ।

१० बर्ष अगाडी विश्वकपमा स्थान बनाउँदाका ९८ प्रतिशत खेलाडी यो पटक मैदान बाहिर छन । कतिले सन्यास लिएका छन भने कति खेल छोडेर विदेश तिर र कोहि आफ्नो काममा नै ब्यस्त भएका छन । बंगलादेशमा विश्वकप खेल्दाका मुख्य बलर सोमपाल कामीमात्र यतिबेला टिममा रहेका छन । त्यो बेला नेपालले क्रिकेट खेलेको हेरेर हौसिएका रोहित पौडेलले यसपटक आफ्नो कप्तानीमा टीमलाई विश्वकपमा पुर्याएका छन । 

नेपालको यो सफलतामा यतिबेला सामाजिक सञ्जालमा टीमलाई बधाई दिनेको आइरो नै लागेको छ । क्रिकेटमा चासो राख्ने त छदैछन, क्रिकेट खासै फलो नगर्नेले पनि नेपालको यो सफलतामा रमाएका छन । 

१० बर्ष अगाडी नेपालले विश्वकप खेल्दा र अहिले क्रिकेटको परिस्थिती लगभग उस्तै छ । खेलाडीहरु अझैपनि आफ्नो भविष्यका बारेमा चिन्तित नै छन भने सरकारले क्रिकेटमा लगानी गर्न अझैपनि चासो दिएको छैन । फरक यतिमात्र भएको छ की त्यो बेला विश्वकप खेल्दा नेपालमा अन्तराष्ट्रिय स्तरको किर्तीपुर मैदानमात्र थियो भने अहिले मुलपानी मैदान थपिएको छ । बर्षोदेखि बनिरहेको यो मैदानमा यसपटक नेपाली क्रिकेट टिमले खेलेर विश्वकपमा स्थान बनाउन सफल भयो । 

बंगलादेशमा नेपालको कप्तानी गरेका पारस खड्का यसपटक क्यानको जिम्मेवार पद सचिवमा आएर यो खेललाई अगाडी बढाउने प्रयास गरिरहेका छन । क्यानको नयाँ कार्यसमिती आएसँगै पहिलो सफलता यो कार्यसमितीका लागि विश्वकपमा स्थान बनाउनु नै रहेको छ । त्यो बेला क्यानले खेलाडीका लागि केहि गर्न सकेन भनेर आवाज उठाएका पारस आफै जिम्मेवार पदमा पुग्दा अब उनले खेलाडीलाई कसरी राम्रो वाताबरण बनाउछन भन्नेमा सबैको चासो छ । 

यता सरकार भने अझैपनि मौखिकरुपमा ठिक्क र कामले दिक्क जस्तै नै छ । खेलाडीले पाउने पुरस्कार समयमा नदिने, भौतिक पुर्वाधारको विकाशमा ध्यान नदिने काम जारी नै छ । यता प्रतियोगिताका बेला निजि क्षेत्रबाट क्षणिक रुपमा पुरस्कारको घोषणा गर्ने काम जारी नै छ । त्यो बेलापनि खेलाडीका लागि विभिन्न निजि कम्पनीले पुरस्कारको घोषणाका साथै रोजगारी दिने भन्दै चर्चा कमाएका थिए । जुन यो पटकपनि जारी छ । यो बिचमा विभिन्न कम्पनीले पुरस्कारको घोषणा गरेर चर्चा पाएपनि र उनीहरुले रकम पनि दिएका छन । १० बर्षको बिचमा नेपालको सबै भन्दा ठूलो उपलब्धिका रुपमा नेपालले एसिया कप खेल्नु मान्न सकिन्छ । भारत र पाकिस्तानसँग पहिलो पटक खेलेर वाहवाही पाएको नेपालले त्यसलाई कम हुन नदिँदै विश्वकपमा स्थान बनाएको छ । जुन सबै नेपालीका लागि गौरवको बिषय हो । 

नेपालले घरेलु मैदानमा उत्कृष्ट खेलेर विश्वकपमा स्थान बनाउँदा हजारौं दर्शक मैदानमा पुगेर खुसी मनाउँदा त्यो भन्दा धेरैले टेलिभिजन सेटमा खेल हेरेर मज्जा लिए र खुसी मनाए । 

अब नेपालले वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकप जुन २०२४ को जुलाईमा हुन गइरहेको छ, त्यो खेल्ने पक्का भएको छ । नेपाली क्रिकेट टिमलाई करिव ८ महिनाको समय बाँकी हुनेछ, विश्वकप खेल्नका लागि । यो बिचमा टिमको तयारी कसरी राम्रो गर्ने भन्ने मुख्य चुनौती क्यानलाई छ । २० देशले खेल्ने यो विश्वकपमा नेपाललाई राम्रो प्रदर्शन कसरी गराउने भन्ने चिन्ता अब खेलाडीलाई भन्दापनि क्यानलाई बढि हुनेछ । 

छिमेकी देश भारतमा भइरहेको एकदिवसिय विश्वकप खेलिरहेका अफगानिस्तान र नेदरल्याण्ड्स कुनै समय नेपालकै हाराहारीको टिम हुन । अझ भनौं नेपालले कुनैबेला यी देशलाई हराइसकेको छ । तर अहिलेको अवस्थामा उनीहरुको स्तर नेपालको भन्दा निकै माथि पुगिसकेको छ । अब नेपाली क्रिकेटको स्तरलाई दुई गुणा बढाउनका लागि क्यानले बनाउने रोडम्याप नै टिमका लागि कोशेढुंगा बन्नेछ । 

तर त्यसका लागि क्यानले बनाउने योजनामा होष्टेमा हैसे गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्का साथै सरकारले नै साथ दिनुपर्नेछ । यो बाहेक निजी क्षेत्रको लगानी निकै महत्वपुर्ण रहनेछ । 

 

images
प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - १८:२६:०८ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend