चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । नेपाललाई तान्जनियाले २७ रनले पराजित गरेको हो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।
तान्जेनियाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाललाई जितका लागि २७ रन अपुग भएको हो । नेपालकि सिता राना मगरले आक्रमण ४३ रनका बनाइन् । नेपाल १६.५ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटिएको थियो ।
टस जितेर ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । सिताले नवौं विकेटका लागि डेब्यू गरेकी इश्वरी विष्टसँग ३२ रनको साझेदारी गरेपनि नेपालको हार टरेन । सिताले ३१ बलमा ४ छक्का प्रहार गरेकी थिइन् ।
कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १५ रन बनाइन् भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । विन्दु रावल, सम्झना खड्का, पूर्व कप्तान रुविना क्षेत्री, खुसी डंगोलले खाता खोलेनन् । काजल श्रेष्ठले ९, संगिता राईले ४, इश्वरी र ओपनर पूजा महतोले समान ३ र अस्मिना कर्माचार्यले २ रन मात्र बनाइन् ।
तान्जानियाका लागि सोफिया जोरेमीले ३ विकेट लिइन् । निमा पिइसले २ तथा प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान १ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गर्दा तान्जेनियाका लागि हुड्डा ओमरीले २५ र इशाले २१ रन बनाएकी थिइन् । नेपालका संगिता राईले २, पुजा, रुविना र इन्दुले समान १ विकेट लिएका थिए ।