भारी बर्षाका कारण क्रिकेट हेर्न गएका हजारौं दर्शक फ्लोरिडा मै बस्न बाध्य भएका छन् । खेल हुने दिन मंगलबार विहानैदेखि परेको पानी अझै रोकिएको छैन ।
फ्लोरिडामा रेकर्ड ब्रेक हुनेगरी भारी बर्षा भएको मौषम विज्ञहरुले जानकारी गराएका छन् ।
“खेल हेर्न पनि पाईएन, समय मै घर फर्कन पनि पाईएन ।” मेरिल्याण्डबाट फ्लोरिडा पुगेका मेरिल्याण्डका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक राजु पराजुलीले भने ।
“हिजो खेल रद्द आज उडान रद्द, हाई फ्लोरिडा, पहिलो भ्रमण साह्रै खराब अनुभव ।” समाज टाईम्सका प्रधान सम्पादक बिष्णु हरि घिमिरेले फेसबुकमा लेखेका छन् ।
कतिपयले फ्लोरिडाको भिडियो खिचेर फेसबुकमा रिल अपलोड गरेका छन । जसमा शिरिश देवकोटाको गीत बजिरहेको छ : 'म त आउने थिईन यहि चाल होला भन्या भा ।'
हावाहुरी सहितको बर्षाका कारण फ्लोरिडाबाट बिभिन्न राज्यका लागि उड्ने प्लेन उड्न सकिरहेका छैनन् । अचानक यसरी बस्न पर्दा खर्च बढिरहेको र काम तथा व्यवसाय प्रभावित भएको उनीहरुले बताएका छन् ।
आशा गरेअनुरुप खेलको मजा लिन नपाएका दर्शकका लागि उडान रद्द भएपछिको सास्तीले बर्ल्ड कपको अनुभव तितो बनेको छ ।
हजारौं खेलप्रेमी नेपालीहरु अमेरिकाका विभिन्न राज्यहरुबाट फ्लोरिडा आईतबारदेखि नै फ्लोरिडा पुगेका थिए । अहिले उनीहरु फ्लोरिडा मै बसोबासको अपर्झट व्यवस्थापन गरिरहेका छन् । यसले गर्दा उनीहरुको खर्च र समयको व्यवस्थापनमा अप्ठेरो परेको उनीहरुको भनाई छ।
वर्षाका कारण नेपाल र श्रीलङ्काबिच टी-२० विश्वकप क्रिकेट अन्तर्गतको खेल रद्द भएको थियो। जसले गर्दा उनीररुले खेलको मज्जा लिन पाएका थिएनन् ।
फ्लोरिडाको सेन्ट्रल ब्रावर्ड रिजनल पार्कसम्म घण्टौँको यात्रा तय गरेका नेपाली खेल प्रशंसकहरूले खेल हेर्न नपाए पनि नेपाली राष्ट्रिय टोलीलाई मैदानमा हेर्न पाएकोमा भने खुसी थिए । नेपाली दर्शकको सम्मान गर्दै खेलाडीहरुले मैदानबाट मार्च पास गरेका थिए