नेपाली डायस्पोरा
बाल्टिमोर, मेरिल्याण्ड
उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १९औँ साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ। साधारण सभाको उद्घाटन शनिबार दिउँसो १ बजे बालटिमोरस्थित होलिडे इन टाउसनको सभाकक्षमा हुने तय गरिएको छ।
साधारण सभाको उद्घाटन अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरनले गर्ने कार्यक्रम रहेको साधारण सभाका संयोजक तथा नेजाका क्षेत्रीय संयोजक श्रृजना काफ्लेले जानकारी दिनुभएको छ।
साधारण सभामा सहभागी हुन अमेरिकाका विभिन्न राज्यबाट नेजाका सदस्यहरू मेरिल्याण्डको बालटिमोर आउने क्रम जारी रहेको छ।
उक्त साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि कार्यक्रमहरू स्वीकृत गर्नेछ। साथै, संस्थाको विधानमा केही संशोधन गर्ने कार्यसूची पनि तय गरिएको छ। विधान संशोधनका लागि वरिष्ठ पत्रकार सतीश चापागाईंको संयोजकत्वमा एक समिति गठन गरिएको छ।