Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

“ब्रह्माण्डको अन्त्य” लिएर आउँदै कवि आर.बी. निश्चल

“ब्रह्माण्डको अन्त्य” लिएर आउँदै कवि आर.बी. निश्चल

Gomi

४, श्रावण २०८३
images

       

295552c7-6d43-40aa-9070-d21ac97488dd.jpg

      अस्तित्व, ब्रह्माण्ड, जीवन, समय र समाजका आफ्नै अन्तर्दृष्टिका गहन चिन्तनदर्शनका कविता लेख्ने प्रखर कवि आर.बी. निश्चलको सातौँ काव्य कृतिको रुपमा ब्रह्माण्डको अन्त्य प्रकाशन हुने भएको प्रकाशोन्मुख उक्त कृतिमा तीन खण्डमा ७२ कविता समेटिएको कविले जानकारी दिनु भएको छ ।

 

यसअघि कवि निश्चलका ‘मौन हिमाल, ‘सपनाफूल, ‘आँसु खस्दै गर्छ, ‘पैताला पुकार, ‘किस्ताकिस्तामा जिन्दगी र ‘उल्टो धार काव्यकृतिहरू प्रकाशित भइसकेका छन् ।

 

प्रकाशक संस्था इम्प्रिन्टका रमेश घोरासैनी भन्छन्—" ब्रह्माण्डको अन्त्य कवितासङ्ग्रहमा कविको अनन्त कल्पनाको उडान देख्न त पाइन्छ नै ! साथै, अस्तित्वका बारेमा निश्चलका आफ्नै धारणा र अनेकौँ काल्पनिक प्रश्न तथा उत्तर— 'के ब्रह्माण्डको अन्त्य हुन्छ ?' 'हुन्छ भने केकसरी हुन्छ/कस्तो हुन्छ ?' 'ब्रह्माण्डको अन्त्य हुनु के अस्तित्वको पनि अन्त्य हुनु हो ?' सँग गज्जबसँग साक्षात्कार गर्न सकिन्छ ।

 

पुस्तकको बारेमा  राजकुमार बानियाँ लेख्छन्— " आर.बी. निश्चलको नवीनतम कविताकृति 'ब्रह्माण्डको अन्त्य' समसामयिक नेपाली कवितामा देखिएको एउटा उत्तेजक विस्फोट हो । "

समय र अस्तित्व अनि जीवन र परिवेशको गहिरो प्रतिध्वनिलाई कवि रुपकमार्फत निरन्तर प्रश्न गर्छन्— मानिस कहाँ सकिन्छ, पीडा कहाँ समाप्त हुन्छ र अन्त्यको भावना कहिले जन्मिन्छ ?

यहाँ ‘अन्त्य कुनै विनाशको घोषणा वा भविष्यवाणी होइन; अस्तित्वको जटिल स्वरुपलाई बुझ्ने एउटा मानसिक अवस्थामात्र हो । यी कविताहरूले अन्त्यको कथा भन्दैनन्; बरू अन्त्यलाई बुझ्ने हाम्रो क्षमतालाई नै चुनौती दिन्छन् । मानवीय अनुभूति र संवेदनाहरूको काव्यिक दस्तावेज बनेका यी कवितामा कवि–मनको सूक्ष्म कम्पन तथा प्रतिकम्पनहरू समेटिएका छन् ।

यो केवल कवितासङ्ग्रह मात्र होइन, मानव अस्तित्त्वको सीमारेखामा उभिएको एक तीव्र आत्म–अन्वेषण पनि हो । अस्तित्ववादी दृष्टिले ब्रह्माण्डको अन्त्य आफैंलाई बुझ्न खोज्दा आफूबाटै टाढिंदै गएको मानवीय विडम्बनाबोध हुन्छ यी कविता ‘अस्तित्व र ‘अर्थ बीचको सङ्घर्षमा जन्मिएका हुन् यी कविताले कुनै उत्तर दिनुको सट्टा पाठकभित्र नयाँनयाँ प्रश्न उमारिदिन्छन् ।

वास्तवमा ब्रह्माण्ड बाहिर छैन, आफैंभित्रै छ । ब्रह्माण्ड भौतिक परिधिभन्दा पनि ज्यादा आत्म–परिधि हो । कविता पढ्दा–पढ्दै बुझिन्छ— अन्त्य ‘अन्त्य हुने कुरामा होइन; ‘अन्त्यको बोधमा हुन्छ र, यही सुन्दर बोधले सम्पूर्ण कवितालाई दार्शनिक उचाइमा पुर्‍याउन सघाएको छ ।

 

कवितासङ्ग्रह दशैँअघि बजारमा ल्याउने तयारी रहेको प्रकाशकबाट जानकारी आएको छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०८३ सोमवार - १०:२५:५२ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend