Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङको अध्यक्षमा पाण्डे: ११ सदस्यीय नयाँ कार्यसमिति चयन

लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङको अध्यक्षमा पाण्डे: ११ सदस्यीय नयाँ कार्यसमिति चयन

नेप्लिज डायस्पोरा

१०, श्रावण २०८३
images
लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङको अध्यक्षमा पाण्डे: ११ सदस्यीय नयाँ कार्यसमिति चयन

पाल्पा, [साउन/९] — लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन देउखुरीस्थित रातोडाँडामा सम्पन्न भएको छ। देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको सभाहलमा आयोजित कार्यक्रमबाट साहित्यकार सुरेशकुमार पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

 

समितिको उपाध्यक्षमा राधा गौतम, सचिवमा वसन्त अनुभव, सहसचिवमा रिमा गौतम र कोषाध्यक्षमा कपिल किशोर घिमिरे चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा वीणा रोका, विश्व प्रकाश अधिकारी, नारायण योगी, केशव दीपक शर्मा, शनिराम चौधरी र संगीता बिक रहनुभएको छ। नवगठित कार्यसमितिलाई प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

प्रतिष्ठानका जिल्ला अध्यक्ष नीमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं साहित्यकार हरेकृष्ण ज्ञवाली रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने मूल उद्देश्यका साथ अघि बढेको संस्था पछि लुम्बिनी वाङ्मय प्रतिष्ठानका रूपमा दर्ता हुनुपरेको पृष्ठभूमि स्मरण गर्नुभयो। उहाँले राज्यले भाषा, साहित्य र कला क्षेत्रलाई उपेक्षा गरेको टिप्पणी गर्दै साहित्यकारहरूले कानुनी अधिकारका लागि एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष राधा गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अध्यक्ष नीमबहादुर थापाले सांगठनिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

उक्त अवसरमा साहित्यकार एवं पत्रकार सन्ध्या रेग्मीलाई ‘राप्ती रत्न सम्मानबाट सम्मानित गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद, केन्द्रीय उपाध्यक्ष तिलक लामिछाने, झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव, राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डे लगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्नुभएको थियो।

अधिवेशनको खुला सत्रमा लक्ष्मण ज्ञवाली, खगेन्द्र बस्याल, जगतराम यादव, वीणा रोका, देवेन्द्र रिजाल, युवराज भण्डारी, एक्लो क्षितिज, आर.एल. संगीता, शेषमणि घिमिरे, सूर्यराज गौतम, हृदय लेकालीलगायतका स्रष्टाहरूले आ-आफ्ना सिर्जना वाचन तथा गायन प्रस्तुत गर्नुभएको थियो।

तीन दर्जनभन्दा बढी साहित्यकार तथा साहित्यानुरागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशव दीपक शर्माले गर्नुभएको थियो।  

images
प्रकाशित मिति :श्रावण १०, २०८३ आइतवार - ०८:५२:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend